कञ्चनपुरमा १५ लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ
2023/02/18, 7:30
 
Police

कञ्चनपुरमा १५ लाख भन्दा बढी भारतीय रुपैयाँ र गरगहनासहित ।३ पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–४ कार्गिल डाँडाबाट भारतीय रुपैयाँ र गरगहनासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अम्मर भुल, ३९ वर्षीय खडकसिंह भुल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय वीरेन्द्र सार्की रहेका छन्।

उनीहरुको साथबाट १५ लाख २८ हजार ५ सय ८८ भारतीय रुपैयाँ, ६ सय ५५ रुपैयाँ नेपाली रुपैयाँ, सिक्री ४ थान, पाउजु १ जोडी, औँठी ४ थान, बाला ३ थान, टप १० थान, बटन १ थान बरामद गरिएको छ।

यसै गरी, झुम्का १ जोडी, टाउकोमा लगाउने गहना १ थान, जन्तर १ थान, घडी १ थान, मोबाइल ३ सेटलगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले जनाएको छ। थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ।