नागरिक उन्मुक्तिका सांसद चौधरी भोली रिहा हुँदै
2023/02/18, 1:17
 
ss

कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको सम्पूर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन्। आइतबार अर्थात् फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सुचीमा सांसद अरुण चौधरीलाईसमेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाहा गरेको हो। सजाय मिनाहा भएसँगै उनी रिहा हुने भएका छन्।

राष्ट्रपति कार्यालयले शुक्रवार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाहा भएका हुन्।  २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए।

उक्त  मुद्दामा २०७० बैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो। फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए। बाँकेबाट उनलाई काठमाडौं हुँदै धनगढी ल्याइएको थियो।