रासस राज्यको मुखपत्र मात्रै हुनुभएन : सभामुख भण्डारी
2023/02/19, 1:56
 
rasasa

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)ले राज्यको मुखपत्र भएर मात्रै काम गर्न नहुने बताएका छन् ।

रासस ६२औं स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भण्डारीले राससले राज्यका कमी कमजोरीलाई पनि औल्याउनुपर्ने बताए । ‘राज्यका नीतिगत कमजोरीलाई पनि बाहिर ल्याउनुपर्छ, रासस अझ विश्वसनिय हुन्छ,’ उनले भने,’अब यसतर्फ पनि ध्यान दिनुपर्‍यो । निजी क्षेत्रका मिडियाले मात्रै सरकारको कमी कमजोरी हेर्छन भन्ने हुनुभएन ।’

राज्यको उपस्थिति नभएको क्षेत्रका समस्याहरूलाई पनि राससले उजागर गर्नुपर्ने सभामुख भण्डारीले बताए । उनले राससको थप विकासका लागि प्रदेश सरकार सधैँ सहयोग गर्न तत्पर रहेको बताए । राससका सुदूरपश्चिम प्रदेश प्रमुख शिद्वराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तुलसी देवकोटा र रमेश धामीले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य चक्र मल्ल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाह, महासङ्घका कैलाली शाखा अध्यक्ष हिमालय जोशी, निवर्तमान अध्यक्ष जगत साउँदलगायतको सहभागिता रहेको थियो । राससका कंचनपुर शाखा कार्यालय प्रमुख शेरबहादुर सिंहले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पत्रकार सीताराम ओझाले गरेका थिए ।