राष्ट्रिय प्रजातन्त्र दिवसः प्रदेश समृद्धिकालागी राजनीतिक स्थिरता आवश्यकः मुख्यमन्त्री शाह
2023/02/19, 2:00
 
cm

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश समृद्धिकालागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्। आईतबार धनगढीमा ७३औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

राजनीतिक स्थिरतालेमात्र प्रदेशको आर्थिक समृद्धि सम्भव रहेको मुख्यमन्त्री शाहले बताएका हुन्। सरकार परिवर्तनले प्रदेश तथा देशमा सामाजिक न्याय, समानता, सामाजिक सद्भाव, आर्थिक समृद्धिलगायत सुशासन नहुने भएकाले राजनीतिक स्थिरता आवश्यक रहेको उनले बताए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित विशेष समारोहलाई मुख्यमन्त्री शाहले सम्बोधन गरेका थिए। दिवसको अवसरमा धनगढी ट्राफिक चौकदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म प्रभातफेरी गरिएको थियो।

प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह,भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा,आर्थिक मामिला मन्त्री नरेशबहादुर शाह, सभामुख भीम बहादुर भण्डारी,निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रदेश सभा सदस्य, प्रदेश प्रमुख सचिव, प्रदेशका विभिन्न मन्त्रालयका सचिव,निजामति कर्मचारी, सुरक्षा निकाय प्रमुख,संघ-संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।सुदूरपश्चिम प्रदेश मुल समारोह समितिको आयोजनामा विभिन्न कार्यक्रम गरि दिवस मनाईएको हो।