सुदूरपश्चिम सरकार ५ वर्ष चल्छ, मध्यावधि चुनावमा गए जनताले लखेट्छन्: मुख्यमन्त्री शाह
2023/02/20, 9:25
 
cm

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार ५ वर्ष नै निरन्तर चल्ने बताएका छन्। सोमवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकारहरुसँगको भेटघाटको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले भने ,’विश्वासको मतका लागि सबै दलहरुसंग सकारात्मक छलफल भैरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौं।सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ। यहाँ अब निर्वाचन हुँदैन।’

यस्तै उनले अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको दाबी गरे। ‘यो बेकारको कुरा हो, निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,’ उनले भने।पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्‌को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ। त्यसैका लागि मुख्यमन्त्रीले दौडधुप बढाएका छन्।