पञ्जावमा मालिकलाई बेहोस बनाएर लाखौँ चोरी, तीन जना पक्राउ परेपछि खुल्यो रहस्य
2023/02/20, 11:05
 
ss

शुक्रबार बेलुका कञ्चनपुरको पुनर्वास नगरपालिका–४ कार्गिलडाँडामा भारतबाट फर्किरहेका तीनजना नेपाली पक्राउ परे।कार्गिलडाँडा स्थित सशस्त्र प्रहरीको अग्रपोष्टले उनीहरुको साथबाट १५ लाख २८ हजार भारतीय रुपैयाँसहित गहना बरामद गरेको थियो। उनीहरु भारतमा चोरी गरेर पुनर्वासको खुला नाकाबाट नेपाल भित्रिन खोजिरहेका थिए।

शंका लागेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय अमर भूल, २९ वर्षीय खड्ग भूल र डडेल्धुराको आलिताल गाउँपालिका–४ का २४ वर्षीय वीरेन्द्र सार्कीको साथमा चोरीको पैसाा र गरगहना भेटिएको थियो।  सशस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीका अनुसार भारतस्थित पञ्चावको फत्तेगढमा आफू काम गर्ने ठाउँमा ती नेपाली नागरिकले चोरी गरेका थिए।

आलितालका २४ वर्षीय वीरेन्द्रको योजनामा चोरी भएको खुलेको उनले बताए। उनी एक वर्षअघि काम गर्न भारतको पञ्जाव गएका थिए। उनका मालिकको स्कुल पनि थियो। पञ्चावमा वीरेन्द्र चौकीदारीको काम गर्थे।  एक सातापहिले उनले पञ्चावमा योजनावद्ध मालिकलाई बेहोस गरेर चोरी गरेका हुन्। चोरीमा सघाउन वीरेन्द्रले केही महिनाअघि मात्रै कामका लागि गोदावरीका अमर र खड्गलाई पनि बोलाएको खुलेको छ।

वीरेन्द्र लामो समयदेखि भारतमै काम गर्दै आएका थिए। उनीसँग भारतीय आधार कार्ड पनि छ। उनी लामो समयदेखि चोरीको घटनामा संलग्न रहँदै आएको खुलेको छ। मालिकले काम गरेको तलब नदिएकोले पैसा चोरेको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन्। उनीहरुको साथबाट नगद पैसासहित सुनको सिक्री, पाउजु, औँठी, मुन्द्रा लगायत गरगहना बरामद गरिएको थियो। भारतीय प्रहरीसँग समन्वय गरेर प्रमाणसहित आएमा चोरीको पैसा र गरगहना फिर्ता गरिने प्रहरीले जनाएको छ।

२०७८ चैत्र ६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरका मीनबहादुर शाह पनि चोरी आरोपमा समातिएका थिए। शाह र उनकी श्रीमती भारतको हरियाणामा चोरीमा संलग्न थिए। चोरी गरेर शाह फरार भएपछि भारतीय प्रहरीले त्यहाँ रहेका अन्य नेपालीलाई पक्राउ गरेको थियो।  तिनै नेपालीका आफन्तले शाहलाई पनि भारतीय प्रहरीको हिरासतसम्म पुर्‍याएका थिए।