शिलान्यास गरिएका १५ शय्याको अस्पतालको निर्माण कछुवा गतिमा
2023/02/20, 5:41
 
ss

कञ्चनपुरमा शिलान्यास गरिएका १५ शय्याका आधारभूत अस्पताल निर्माण कछुवाको गतिमा अघि बढेका छन् । शिलान्यास गरेको ३९ महिना बितिसक्दा पनि जिल्लाका कुनै पालिकामा पनि अस्पताल निर्माणकार्य सम्पन्न भएको छैन । १७ मंसिर ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले देशैभरका तीन सय ९७ पालिकामा १५ शय्याको आधारभूत अस्पताल बनाउन भर्चुअल माध्यमबाट एकसाथ शिलान्यास गरेका थिए । कञ्चनपुरमा भीमदत्त नगरपालिका बाहेक अन्य आठ पालिकामा शिलान्यास गरिएका थिए । तर, अस्पताल निर्माणकार्य कुनै पनि पालिकामा पूरा भएको छैन । केही पालिकामा त निर्माणकार्य सुरुसमेत भएको छैन ।

पुनर्वास नगरपालिका– ५ त्रिभुवन बस्तीमा शिलान्यास गरिएको अस्पताल फाउन्डेसनमै सीमित छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले १५ शय्याको अस्पताल फाउन्डेसनमै सीमित रहेको बताए । ‘ठेकेदारले जग मात्रै निर्माण गरेको छ,’ उनले भने, ‘बाँकी काम अघि बढाएको छैन ।’

यता, बेदकोट नगरपालिकामा भर्खरै काम सुरु भएको छ । वडा नं। ३ का अध्यक्ष मोहन गुरुधार्मीका अनुसार एक साता अघिदेखि काम सुरु भएको हो । ‘साइट लिने काम गरेको छ,’ उनले भने, ‘अब अर्को सातादेखि ठेकेदारले निरन्तर काम गर्छ ।’ यहाँ अस्पताल निर्माणका लागि राजेन्द्र निर्माण सेवाले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २२ वैशाख ०७८ मा नौ करोड ७४ लाख लागतमा सम्झौता गरेको थियो । तर, सम्झौता गरेको डेढ वर्षपछि मात्र निर्माणकार्य अघि बढाउने तयारी गरेको छ ।

कृष्णपुर नगरपालिकामा ५ र ८ नम्बर वडामा १५ शय्याको एक–एकवटा अस्पताल बनाउने निर्णय भएको थियो । वडा नम्बर ५ गुलरिया र वडा नम्बर ८ रैकवारविचुवामा अस्पताल निर्माण गर्ने निर्णय भएको थियो । कृष्णपुरमा ६ जेठ ०७८ मा सम्झौता भई ०८० जेठ ६ गते सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवाले जिम्मा पाएको थियो । विचुवामा आठ करोड ३६ लाख र गुलरियामा ६ करोड ५९ रुपैयाँमा निर्णण गर्ने सम्झौता भएको थियो ।

कृष्णपुर नगरका प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारीले सुरुवाती चरणमा दुई स्थानमा १५–१५ शय्याको अस्पतालको योजना गरे पनि पछि मन्त्रालयबाट एक पालिकामा एक मात्रै निर्माण गर्ने निर्णय गरेपछि ढिलाइ भएको बताए । निर्माण कम्पनी र पालिकाबीच त्यतिवेला सम्झौता भयो, तर निर्माण भएन ।

यता, बेलडाँडी गाउँपालिकामा चालू आर्थिक वर्ष ०७९–०८० माघ दोस्रो सातादेखि निर्माण कार्य सुरु भएको छ । बेलडाँडीमा अघिल्लो स्थानीय सरकारले अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया नबढाएपछि गत वैशाखमा आएको नयाँ स्थानीय सरकारले ठेक्का खोलेर काम सुरु गरेको छ । बेलडाँडीका प्रमुख हरिशचन्द्र रानाले गत आर्थिक वर्षमा ठेक्का आह्वान गरेर अस्पताल निर्माणकार्य अघि बढाइएको बताए । बंगलामुखी बैजनाथ जेभीले १६ करोड ५१ लाख ६२ हजार रुपैयाँबराबर लागतमा ६ मंसिर ०८१ मा निर्माण सम्पन्न गर्ने गरी ६ मंसिर ०७९ मा सम्झौता गरेको छ ।

बेलौरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख मानबहादुर चन्दले २० प्रतिशत भवन निर्माणकार्य सकिएको बताए । दोधाराचाँदनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले ४५  प्रतिशत काम भएको बताए । उनका अनुसार पहिलो तला निर्माण सकिएको छ । शुक्लाफाँटा स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले पहिलो तला निर्माण भएको बताए । लालझाडी गाउँपालिकामा निर्माण सुरु भएको १५ शय्याको अस्पताल पहिलो तला ढलान भएको छ ।