औद्योगिक क्षेत्रको विकासबिना समृद्धि हासिल गर्न सकिँदैनः मन्त्री भण्डारी
2023/02/21, 12:09
 
jdhfdh

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा औद्योगिक विकासबिना समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।सोमबार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा उनले औद्योगिक विकासबिना समृद्धि सम्भव नभएको उल्लेख गर्दै सरकारको प्राथमिकतामा औद्योगिक विकास रहेको बताए ।

“सरकारले सुदूरपश्चिममा रहेका सम्भावनाको अध्ययन गरिरहेको छ”, मन्त्री भण्डारीले भने, “यहाँका फलाम खानीलगायतका सम्भावनाको अध्ययन गर्न सुदूरपश्चिममा टोली खटिएको छ ।” उनले औद्योगिक क्षेत्रसँगै कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको कामसमेत छिट्टै सञ्चालन हुने बताए। “औद्योगिक क्षेत्रमा देखिएको जग्गाको भोगाधिकारको समस्या एक महिनाभित्रै मन्त्रिपरिषद्बाट निर्णय गराएर समाधान गर्छु”, उनले भने, “भारतसँगको पारवहनका लागि सुक्खा बन्दरगाहको काम पनि केही समयमा सुरु हुँदैछ ।”

उनले यहाँका निर्माणधीन गौरवका योजनामा बजेट अभाव हुन नदिने बताए । “महाकाली करिडोर, औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह निर्माणका लागि बजेट अभाव हुन दिनेछैन”, मन्त्री भण्डारीले भने, “औद्योगिक विकासका लागि निजी क्षेत्रसँग पनि सहकार्य गर्न तयार छौँ ।” औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सञ्जयलाल मानन्धरले औद्योगिक क्षेत्रमा एक उद्योगका लागि पाँच कठ्ठादेखि पाँच बिघा जमीन छुट्याइएकोे जानकारी दिए। “औद्योगिक क्षेत्र निर्माणका लागि रु नौ अर्ब खर्च हुने अनुमान छ”, महाप्रबन्धक मानन्धरले भने, “उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजारले रोजगारी पाउनेछन ।”

उनका अनुसार एकसय वटा औद्योगिक प्लट रहने दैजी–छेला औद्योगिक क्षेत्रमा साना उद्योगका लागि २३, मझौला उद्योगका लागि ४४ र ठूला उद्योगका लागि ३३ प्लट छुट्याएको छ ।