कैलालीमा हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुने
2023/02/21, 9:55
 
ss

कैलालीमा यही फागुन ११ गतेबाट हात्तीपाइलेको आम औषधी सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका १३ वटै स्थानीय तहहरुमा फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइले विरुद्धको ११ औं चरणको आम औषधी खुवाईने अभियान सुरु हुने भएको हो ।

जिल्लामा नौ लाख २६ हजार आठ सय ८८ जनसंख्या रहेकोमा आठ लाख ८० हजार छ सय ४७ जनालाई हात्तीपाइले औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । मंगलबार धनगढीमा सञ्चारकर्मीहरुसंग अन्र्तक्रिया कार्यक्रम गर्दै सुदूरपश्चिम प्रदेशका आठ वटा जिल्लाहरुमा हात्तीपाइले रोग निवारण भए पनि कैलालीमा भने अहिले सम्म पनि निवारण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

यो पटक कैलालीमा एघारौं चरणको अभियान सञ्चालन गरिएकोले सबैलाई औषधी सेवन गरी सहयोग गरिदिन स्वास्थ्य कार्यालयका फोकल प्रशन तथा हेल्थ असिस्टेन्ट मिनबहादुर धामीले अनुरोध गरे ।  खाली पेटमा सेवन गरेमा कसै कसैलाई वाक वाकी लाग्ने, बान्ता हुने, रिगटा लाग्ने हुन सक्छ । खाना खाएर वा नास्ता खाएर औषधीको सेवन गर्न पर्ने बताईएको छ ।

दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिन सम्मका सुत्केरी र सिकिस्त बिरामीले औषधी सेवन गर्न नहुने उनले जानकारी दिए । दिगो विकास लक्ष्य अनुसार सन २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने राष्ट्रिय संकल्प रहेको स्वास्थ्य कार्यालय कैलालीका हात्तीपाइले रोग फोकलप्रशन मिन बहादुर धामीले बताए । 

कुल जनसंख्याको ६५ प्रतिशतलाई अनिवार्य रुपमा औषधी खुवाउनु पर्नेमा लक्ष्य रहेको हालसम्मको सर्वेक्षणमा ४९।६७ प्रतिशतले औषधी खाएको पाइएकोले यस पटकको अभियानमा सबैले औषधी खानुपर्ने बताएका छन् । यो औषधी सेवनले ९९ प्रतिशत मानिसहरु परजीवी मुक्त भएको भन्दै सम्पुर्ण मानिसले खान आवश्यक रहेको धामीले बताए ।

यस पटक कैलालीमा स्वास्थ्य मापदण्ड अनुसार सम्पुर्ण नागरिकले औषधी सेवन गरेको सुनिश्चितता गर्न स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा ३ प्रकारका औषधी खुवाइने छ । उचाइ अनुसार दुई बर्ष माथिका सबै मानिसले औषधी खानुपर्नेमा बिगतमा अभियान सञ्चालन गर्दा केहिले नियमित रूपमा खाने तर शिक्षित, सहरी क्षेत्र र विपन्न वर्गका मानिसहरू बिहानै काममा निस्कने हुँदा नखाई दिने कारणले अपेक्षा गरिएको अनुसार अभियान सफल हुन नसके कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीहरुले बताएका थिए ।

हात्तीपाइलेको औषधि कसले खाने, कसले नखानेर ?

हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ । संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । मानिसको  शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन् ।  लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन ।

हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको  जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ । जिल्लामा दुई वर्ष मुनिका बालबालिका २७ हजार पाँच सय ५५, गर्भवति महिलाको संख्या १३ हजार छ सय ८६ र सिकिस्त विरामी पाँच हजार रहेका छन् ।