कुख्यात ‘ड्रग डिलर चमकी’ समातिए, आधा करोड बढिको लागुऔषध बरामद
2023/02/22, 9:29
 
chamki

नेपाल भारत सीमावर्ती क्षेत्रका कुख्यात लागूऔषध कारोबारी पक्राउ परेका छन्। सीमावर्ती क्षेत्रका कुख्यात लागूऔषध कारोबारी चमकी भनेर चिनिने ३० वर्षीय चमकौर सिंहलाई भारतीय प्रहरीले समातेको हो।

उनलाई महाकाली पारि नेपाल–भारत सीमावर्ती बजार बनबासाबाट भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। अभियुक्त सिंह मझोलाको बिडोराका स्थानीय बासिन्दा हुन। उनको साथबाट ५० लाख भारु रुपैया बराबरको २६० ग्राम लागूऔषध (स्म्याक) पनि बरामद गरिएको भारतको चम्पावत जिल्लाका प्रहरी प्रमुख देबेन्द्र पिँचाले बताए।

स्म्याक अफिमबाट तयार गरिने बहुमूल्य लागूऔषध हो। ‘चम्पावत जिल्लामा एकै व्यक्तिबाट यति ठूलो परिमाणमा लागूऔषध बरामद भएको यो पहिलो घटना हो,’ उनले अभियुक्त सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा भने, ‘अहिलेसम्म १५ मुद्दा दर्ता भएको खुलेको छ, अन्य ठाउँमा पनि मुद्दा हुनसक्छन्, यो संख्या बढ्न सक्छ।’ भारतीय प्रहरीका अनुसार नानकमता र बनबासा थानामा गरेर सिंह विरुद्ध लागूऔषध सम्बन्धि १५ मुद्दा रहेका छन्। सिंहको लागूऔषध गिरोहमा संलग्न अन्यको खोजी भइरहेको छ। 

‘किच्छा र बरेली लागूऔषधको अड्डा छ भनेका छन्,’ चम्पावत प्रहरी प्रमुख पिंचाले भने, ‘हाम्रो निगरानी अब ती क्षेत्रमा हुन्छ।’ सिंहले भारतको चम्पावतका तराइ क्षेत्रका साथै महाकाली वारि नेपालतर्फ पनि लागूऔषधको कारोबार गर्ने गरेको खुलेको छ।उनी बारेमा सूचना दिनेलाई बनबासा प्रहरीले ५ हजार र उत्तराखण्ड प्रहरीले १० हजारको इनाम समेत घोषणा गरेको थियो।