अछाममा महिलाको उपचार शिविरकै भरमा
2023/02/22, 9:49
 
tyuytuyuuuu

 ७५ वर्ष पार गरेकी मंगलसेन नगरपालिका–१ कुन्तिबण्डालीकी हिरा ढोली स्वास्थ्य शिविर सञ्चालन हुने थाहा पाएपछि अघिल्लै दिन नौ घण्टा हिँडेर मंगलसेन आइन् । जीवनमा पहिलो पटक आफ्नो स्वास्थ्य जाँच गर्न आएकी उनीसँगै टोलका ४० जनाभन्दा बढी महिला पनि थिए ।

‘एकोहोरो खोकी लाग्ने, तल्लो पेट दुख्ने, आँसु बगिरहने समस्या भएको १४ वर्षभन्दा बढी भयो,’ उनले भनिन्, ‘२ छोरा र २ बुहारी छन् । छोरा दुवै बम्बै जान्छन् । बुहारी पनि पढेलेखेका छैनन् । उपचार गरिदिने मान्छे कोही थिएन । पैसा नलाग्ने शिविर हो भन्ने थाहा पाएपछि मंगलसेन आएकी हुँ ।’

मंगलबार सदरमुकाम मंगलसेनमा रहेको अछाम बहुमुखी क्याम्पस प्रांगणदेखि मंगलसेन बजारसम्म मानिसको भिडभाड थियो । भीडमा वृद्धवृद्धा, बालबालिका र महिलाको उपस्थिति बाक्लो थियो । यो भिडमा प्रायःजसो केही न केही रोगले गाँजेकाहरू मात्रै थिए ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र मंगलसेन नगरपालिकाले १५ भन्दा बढी रोगको उपचारका लागि विशेषज्ञ डाक्टरसहितको एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । मंगलसेन–४ की ४५ वर्षीया तिलु विक गत भदौमा आफ्नै घरको माथिल्लो तलाबाट लडिन् । आर्थिक अवस्था कमजोर भएकी तिलुलाई त्यही बेला जिल्ला अस्पतालबाट राम्रो ठाउँमा जान भनिएको थियो । राम्र्रो पैसाको बन्दोबस्त गर्न नसकेपछि उनी घरमै थन्किन् । हाडजोर्नी सम्बन्धी उपचार गर्ने शिविर आएको खबर पाएपछि उनी मंगलबार मंगलसेन आएर जाँच गरिन् । ‘केही समयसम्म औषधि खान भनेका छन् । पहिले त केही औषधि पनि किन्न सकेको थिएन,’ उनले भनिन्, ‘श्रीमान् जहिले बम्बै नै हुन्छन् । उपचार गर्न जान सक्ने अवस्था पनि छैन । शिविर आएर मात्रै उपचार भयो । नत्र दुःख सहेरै बस्नुपर्थ्यो ।’  कान्तिपुर बाट 

मंगलसेनमा आयोजना भएको शिविरमा गम्भीर अवस्थाका कतिपय बिरामीलाई बोकेरै ल्याएको थियो । आर्थिक अवस्था कमजोर भएर उपचारका लागि राम्रो ठाउँ जान नसकेकाको भीड नै धेरै भएको अछाम बहुमुखी क्याम्पसका प्राचार्य वसन्त भाटले बताए । ‘यहाँ आउने कोही पनि रहरले आएका छैनन् । स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका नागरिकका लागि योभन्दा अर्को अवसर कुनै पनि छैन,’ उनले भने, ‘कति मान्छे राम्रो अस्पतालमा उपचार गर्न जान नसकेर बसेका छन् भन्ने पनि शिविरमा आएकाको संख्याले देखाउँछ । शिविरमा धेरै मान्छे आए भनेर उत्साहित हुनुभन्दा पनि सुविधा सम्पन्न अस्पताल आवश्यक छ भन्ने चित्रण गरेको छ ।’

धेरैजसो महिलाहरू नै शिविरमा आएकाले अछामका महिलाको स्वास्थ्य अवस्था जटिल रहेको दृश्य देखिएको प्राचार्य भाटले बताए । ‘५० जना महिला आउँदा ५ जना मात्रै पुरुष आएको देखिन्छ । यो महिलाको स्वास्थ्यसम्बन्धी दर्दनाक अवस्था हो,’ उनले भने, ‘सदरमुकाम भित्र त यसरी महिलाहरू रोगसँग जुधिरहेका छन् । उपचार पाएका छैनन् भने जिल्लाको दुर्गम भेगको जनस्वास्थ्यको अवस्था झन् जटिल छ ।’

मंगलबार सञ्चालन भएको एक दिने शिविरमा २ हजार ३ सयभन्दा बढीले सेवा लिएको मंगलसेन नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैसीले बताए । उनका अनुसार मुटु रोगसम्बन्धी ५ सय, हाडजोर्नीसम्बन्धी ४ सय ५०, स्त्री रोग १ सय ७८, नाक, कान, घाँटी २ सय २१, न्यूरो सर्जन तथा शल्यक्रियासम्बन्धी १ सय ८४, युएसजी १ सय ९०, इसिजी, १ सय ६ जनरल मेडिसिन तथा मृगौलासम्बन्धी ४ सय ८८, दन्त सेवा ८९, आँखासम्बन्धी ३ सय ४१ र बाल रोग सम्बन्धी १ सय जनाले सेवा लिएका थिए । शिविरमा आएका ७० प्रतिशतभन्दा बढी महिला थिए । यीमध्ये ७१ जनाको अवस्था जटिल देखिएर रेफर गरिएको सूचना अधिकारी जैसीले बताए ।

उक्त टोलीले अछामको पञ्चदेवल बिनायक नगरपालिकामा गत आइतबार र सोमबार सञ्चालन गरेको शिविरमा ४ हजारभन्दा बढीले सेवा लिएका थिए । त्यहाँ जटिल अवस्थाका १ सय ८२ जनालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । यस्तै, शिविर कमलबजार नगरपालिकामा पनि सञ्चालन हुने कार्यक्रम छ ।