अरुण चौधरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समेटिएन
2023/02/22, 1:32
 
अरुण चौधरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समेटिएन

धनगढी - राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्‌को तर्फबाट ३३४ मतदाताको नामावली सार्वजनिक गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उक्त नामावलीमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीको नाम भने समावेश गरिएको छैन । सरकारले गत शुक्रबार राष्ट्रपतिमार्फत सांसद चौधरीलाई आममाफी दिएको थियो ।

आममाफीको आधिकारिक जानकारी आइनसकेकाले उनको नाम नराखिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जनाए । चौधरीले आफ्नो दाबी‚ विरोध प्रस्तुत गरेमा उनको नाम समावेश गर्न सकिने प्रवक्ता पौडेलले जानकारी दिए ।

सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ ।

राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।