धनगढी–अत्तरिया ६ लेन सडक झिलिमिली 
2023/02/23, 12:47
 
ss

मोहनापुल–अत्तरिया ६ लेन सडक झिलिमिली भएको छ।  धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीको उद्घाटन गरिएको हो। धनगढी–अत्तरिया सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडक बत्तीको बुधवार साँझ सुदूपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गरेका छन्।

नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा पहिलो चरण अन्तर्गतको बत्ती जडानको काम भएको हो। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री देउवाले विकास निर्माणमा साझेदारी गर्न तयार रहेको बताए। धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने ६ लेन सडकमा पहिलो चरणको स्मार्ट सडक बत्ती जडान गर्ने काम पूरा गरेको हो। धनगढी चौराहदेखि मोहनपुर विमानस्थल जाने बाटोसम्म स्मार्ट सडक बत्तीले झिलिमिली भएको नगरप्रमुख गोपाल हमालले बताए।

६ लेन सडक क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दुरीमा स्मार्ट सडक बत्ती जडान गरिएको हो। पहिलो चरणमा २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको छ। स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको नेपाल विद्युत प्राधिकरणले बताएको छ। धनगढी उपमहानगरपालिकाले दोस्रो चरणको काम अन्तर्गत ६ लेन सडकमा हाईमास्ट लाइट जडानको काम गरिरहेको छ।

भन्सारदेखि गेटासम्म १० वटा हाईमास्ट लाइट जडान गर्न उपमहानगर एक्लैले खर्च व्यहोर्ने छ। यसैगरी, तेस्रो चरण अन्तर्गत भन्सारदेखि चौराहा र मोहनपुरदेखि गेटासम्म स्मार्ट सडक बत्ती जडान गर्न बोलपत्र आह्वान भइसकेको धनगढी उप–महानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताएका छन्। 

उपमहानगरपालिकाले धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको करीब ९ किलोमिटर सडक क्षेत्रमा आधुनिक सडक बत्ती जडानको कामसँगै मेडियनलाई हरियाली बनाउने काम समेत गरिरहेको छ। सडक हरियाली बनाउन उपमहानगरले तीन ओटा संस्थासँग साझेदारी गरेको छ।

गेटादेखि विमानस्थलसम्म विरुवा रोप्न र फेन्सिङ गर्न सूर्य नेपालले ५० लाख सहयोग गरेको छ भने चौराहादेखि भन्सारसम्म विरुवा रोप्न जाउलाखेल ग्रुप अफ कम्पनीले सहयोग गरेको हो। चौराहादेखि मोहनपुरसम्म विरुवा लागउन र फेन्सिङ गर्न नगर विकास कोष र उपमहानगरले साझेदारी गरेको नगरप्रमुख हमालले बताए। दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान हुने छ।