अछाम : सात छोरी पछि छोरा जन्मिदा बाजागाजासहित मङ्गलसेन बजार परिक्रमा गराइयो
2023/02/24, 12:15
 
अछाम : सात छोरी पछि छोरा जन्मिदा बाजागाजासहित मङ्गलसेन बजार परिक्रमा गराइयो

अछाम — मंगलसेन नगरपालिका–५ की जमुना नगार्जीको परिवारलाई बिहानसाँझ छाक टार्न पनि धौधौ पर्छ । अर्काको काम गरेरै गुजारा चलाउनुपर्ने उनको परिवारको बाध्यता हो । आर्थिक अवस्था कमजोर भएका कारण काम नपाएको दिन चुलो नबलेका धेरै दिन छन् । 
३५ वर्षीया जमुना नगार्जी अहिलेसम्म दश पटक सुत्केरी भइसकिन् । उनीसँग अहिले ६ छोरी र १ छोरा छन् । तीन छोरीको भने जन्मिनेबित्तिकै मृत्यु भयो । छोरा पाउने आशामा नौं पटकसम्म छोरीलाई जन्मदिएकी जमुनाले दशौं पटक भने छोरा पाइन् । दशौं नम्बरमा जन्मेको छोराको न्वारन गर्न उनको परिवारले आफन्त र वित्तिय संस्थाबाट ऋण लिएर धुमधाम गरे ।

छरछिमेकीले ७ छोरी भएको भन्दै आफूलाई पटकपटक समाजमा जान सक्ने अवस्थाबाट वञ्चित गरेको जमुना बताउँछिन् । ‘मलाई चाडबाड किन आउँछन्जस्तो लाग्थ्यो । छोरा हुने महिलाको पेट छोरी हुनेहरूका भन्दा फरक पो हुन्छन् की भन्ने लाग्थ्यो,’ छोरी मात्रै पाएर समाजमा एक्ली भएकी जमुनाले आफ्नो विगत सम्झदै भनिन्, ‘दिदीबहिनीहरूसँग मेलापात जाँदा तिम्रो अब छोरा जन्मँदैन । वंश सकिने भयो भन्दै कुरा सुनाउँथे । आठौं सन्तानमा भने छोरा भयो ।’ ३ छोरी हुँदासम्म नआत्तिएकी जमुना चौथौं पटकदेखि भने धेरै आत्तिन थालिन् । त्यतिबेला नै उनलाई स्वास्थ्यकर्मीले स्वास्थ्य जोखिम भएको भन्दै गर्भवती नहुनु सुझाव दिएका थिए । डाक्टरको सुझावपछि पनि जमुनाले सात सन्तानलाई जन्म दिइन् । ‘छोरीमात्र भएका कारण मैले धेरै यातना सहनुपर्‍यो । धेरैले हेला गरे । छोरी जन्मेको बेला खानसमेत पाइनँ,’ उनले भनिन्, ‘छोरा भने अप्रेसन गरेर जन्मेको हो । म ६ दिनसम्म जिल्ला अस्पतालमा थिएँ । श्रीमान्ले ठूलो न्वारन गर्ने तयारी गरेका रैछन् ।’

२ लाखभन्दा बढी खर्च गरेर छोराको न्वारन गर्नेबारे जमुनालाई भने थाहा थिएन । अरु छिमेकीले छोरा जन्मिएपछि गरेको तडकभडकले उनका श्रीमान्लाई रोक्न सकेन । ‘छोरा भएकै बेला पनि खान नपाएर तड्पिरहेकी थिएँ । तर यता न्वारनमा भने लाख बढी खर्च भइसकेको थियो । आमा बच्चाको स्वास्थ्यभन्दा पनि अरूलाई देखाउनकै लागि तडकभडक गरियो,’ उनले भनिन् ।

यसभन्दा अघि छोरी बिरामी हुदाँ पनि वास्ता नगर्ने श्रीमान्ले छोरा जन्मदा देखाएको व्यवहार र मायाले उनी दंग छिन् । ‘अहिले श्रीमानको माया पहिले भन्दा दोब्बर पाएकी छु । जेठानीदेवरानीले पनि अहिले राम्रो व्यवहार गर्छन्’ उनले भनिन् ,‘मैले छोरा पाएपछि अब श्रीमान्ले दोस्रो बिहे नगर्ने भए ।’

जमुनाकै छिमेकीले पनि छोरा हुँदा लाखौं खर्च गरेर धुमधामसंग न्वारन गरे । पहिलो सन्तान छोरी भएको बेला सामान्य नाम जुराएर टारेका मंगलसेन नगरपालिका–५ का रामबहादुर विकले छोरा हुँदा भने खुसीयालीमा बाजागाजा सहित र्‍याली निकाले । गत वर्ष उनका छिमेकीले छोरा पाउँदा पनि त्यसैगरी बाजागाजासहित बजारमा मान्छे उतारेपछि उनलाई पनि देखासिकि गर्नुपर्ने भयो । सामान्य परिवारका रामबहादुर र यशोदा दम्पतीले गाउँभरिका मान्छेलाई ५ दिनसम्म भोज खुवाए । छोरा जन्मेको दिनदेखि नै नाचगान, बाजागाजा र रतेडी ९देउडा० सुरु भएको यशोदाले बताइन् । ‘पहिलो पटक छोरा भएको भए हुन्थ्यो भन्ने लागेको थियो । तर छोरी भइन् नाम मात्र जुरायौं । छोरीका लागि यत्रो विधि धुमधाम गर्ने चलन छैन,’ उनले भनिन्, ‘न्वारनमा दुई लाखभन्दा बढी खर्च भइसक्यो ।’

अछाममा अधिकांश महिलाले छोरा पाउनको लागि पटकपटक गर्भवती हुनेको संख्या धेरै भएको जिल्ला अस्पताल अछामकी सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत गंगा बुढामगरले बताइन् । ‘धेरै महिला भने छोरा नजन्मिदासम्म गर्भवती भइरहन्छन्’ उनले भनिन्, ‘८र९ पटक छोरीलाई जन्म दिएका महिला पनि छोराकै लागि गर्भवती हुन्छन् ।’