नेपाली सेनाको स्थापना दिवस : धनगढीमा दुई दिने बृहत प्रदर्शनी
2023/02/24, 3:22
 
धनगढीमा नेपाली सेनाद्धारा दुई दिने बृहत प्रदर्शनी सुरु

धनगढी - नेपाली सेनाले सुदूरपश्चिम प्रदेश पृतना हेडक्वाटरले इतिहास देखि वर्तमान सम्मका सैनिकसम्बन्धी विविध सामग्री तथा गतिविधि समेटेर दुई दिने बृहत प्रदर्शनी आयोजना गरेको छ ।

महाशिवरात्री तथा २६० औं नेपाली सेना दिवसको अवसरमा कैलालीको धनगढीमा ‘सैनिक प्रदर्शनी तथा युनिट रन –२०७९’ शुरु भएको हो ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल लगायत प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रमुख तथा प्रतिनिधि, संघ-संस्थाका प्रतिनिधि तथा प्रमुख, सञ्चारकर्मी, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक लगायतको सहभागिता रहेको थियो ।

शुक्रबारदेखि शुरु भएको प्रदर्शनी शनिबारसम्म हुने उपरथी विजय थापाले जानकारी दिए । उनले भने –‘ इतिहासदेखि वर्तमानसम्मका सैनिकका विविध गतिविधिबारे प्रदेशका नागरिकलाई जानकारी दिन २०७४ सालदेखि केन्द्रदेखि प्रदेशमा यस्ता कार्यक्रम गरिन लागेको हो ।’ निःशुल्क प्रवेशको सुविधा मिलाएको प्रदर्शनीमा सैनिक व्याण्ड, हातहतियार, उपकरण, पोशाक, खेलकुद तथा पर्वतारोहण एवम् विकास निर्माण लगायत प्रदर्शनीमा रहेका छन् । राष्ट्रसङ्घीय शान्ति स्थापनामा सेना सहभागिता, विशेष फौज, एकीकरण पदमार्ग जर्गेना, पदिक फौज र मद्दति अङ्ग लगायत सुरक्षा गतिविधिबारे प्रर्दशनी अवलोकन गर्न सकिने उनले बताए ।