ठूलो लगानीमा बनेको सभागृह सिटी हल अझै सञ्चालनमा आएन
2023/02/25, 11:10
 
ss

कैलालीको धनगढीमा ठूलो लगानीमा बनेको सभागृह सिटी हल अझै सञ्चालनमा आउन सकेको छैन । गत असारमै निर्माण कार्य सम्पन्न भए पनि थप व्यवस्थापनको काम अगाडि नबढ्दा हल सञ्चालनमा आउन नसकेको हो । सङ्घीय सरकारको २५ करोड २६ लाख रुपियाँ लगानीमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा सिटी हल निर्माण गरिएको छ । ठूला सभा, सम्मेलन आयोजना गर्ने उद्देश्यका साथ सिटी हल बनाइएको हो । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमार्फत सिटी हल निर्माणको कार्य सम्पन्न गरिएको छ ।

यसमा ९६० जना अटाउने गरी दुई वटा हल बनाइएको छ । ठूलो हलमा ६०० र सानो हलमा ३६० जना अटाउने निर्माण कम्पनी बीकेवाई एमके जेभीले जनाएको छ । यसैगरी, सय÷डेढ सय सवारी साधन पार्किङ गर्न सकिने गरी अन्डर ग्राउण्ड पार्किङको व्यवस्था गरिएको छ । भीआइपी कक्ष, लब्बी लगायतका संरचना सिटी हलमा बनेको छ ।

सिटी हलको काम असारमै सकिएर हस्तान्तरण गरिसकेको निर्माण व्यवसायी प्रकाश सेठीले बताए । ‘हामीलाई ठेक्कामार्फत मिलेको संरचना निर्माणको जिम्मेवारी हामीले पूरा गरेर हस्तान्तरण गरिसकेका छौं’, उनले भने,‘तर, हल प्रयोगमा आएको आइसकेको छैन ।’ 

हलमा अझै साउण्ड सिस्टम जडान गर्न बाँकी रहेको छ । ‘साउण्ड सिस्टम जडानको जिम्मेवारी हाम्रो थिएन’, सेठीले भने,‘त्यो अर्को फेजमा हुनेछ । हाम्रो जिम्मेवारी भौतिक संरचना निर्माण गर्ने थियो । त्यो पूरा गरिसकेका छौं ।’ उनले सबै एसी धान्न विद्युत भोल्टेज नपुग्ने भएकाले ठूला जेनेरेटर पनि आवश्यक रहेको बताए । प्रयोगमा अझै नआएको हलको रेखदेखका लागि एक जना चौकीदार राखिएको छ । 

प्रदेशकै महत्वपूर्ण योजनाको रुपमा रहेको सिटी हल सम्भवतः धनगढी उपमहानगरपालिकाको कार्यालयमार्फत सञ्चालन हुने जनाइएको छ । तर, निर्माण कार्य पूरा भए पनि हस्तान्तरण गर्ने कार्य नभएको वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले बताए । ‘हस्तान्तरण हुन नसकेका कारण सञ्चालनमा नआएको हो’, उनले भने,‘अहिलेसम्म नगरपालिकालाई हस्तान्तरण नै भएको छैन ।’ 

धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी उपसचिव नरेन्द्रबहादुर खातीले पनि सिटी हल हस्तान्तरण भएरनभएको विषयमा जानकारी नभएको बताए ।  २०७६ माघमा सिटी हल निर्माणको ठेक्का सम्झौता भएको थियो । कोरोना महामारीका कारण तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि चैतसम्मको म्याद थप गरिएको थियो । निर्माण कार्य लगभग पूरा भएपछि स्थानीय तहको निर्वाचन अगाडि नै हस्तान्तरणको तयारी गरिए पनि निर्वाचन आचारसंहिताका कारण रोकिएको थियो । 

राष्ट्रिय स्टान्डार्डको यो सिटी हल बनेमा सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय स्तरको जुनसुकै ठूला सभा, सम्मेलन गर्न समस्या नहुने पूर्व वडा अध्यक्ष नारायण बरालले बताए । ‘यो सिटी हल सङ्घीय राजधानीको राष्ट्रिय सभा गृह जस्तै हो’, उनले भने । ‘गौरवको यो योजनाले अब सुदूरपश्चिमलाई नै चिनाउनेछ ।’ सिटी हल निर्माण कार्य २०७९ वैशाखमै सकिने चरणमा रहेतापनि अहिलेसम्म के कति कारणले सञ्चालनमा आउन सकेन भन्दै उनले वडा र नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

सिटी हलकै कारण धेरै जनाले रोजगारी पाउनुका साथै आसपासमा व्यापार, व्यवसाय पनि फष्टाउने बताइएको छ । धनगढीमा अहिले ठूलो सभागृह छैन । राष्ट्रिय वा प्रदेश स्तरीय ठूला कार्यक्रम आयोजना गर्नु परेमा विभिन्न प्यालेसमा कार्यक्रम गर्नु पर्ने बाध्यता रहेको छ ।