चराको स्वर्ग पुरैनी तालमा जलपंक्षी घट्दै
2023/02/25, 5:21
 
ss

चराको स्वर्ग भनेर चिनिने कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटमा रहेको पुरैनी तालमा जलपक्षीको सङ्ख्या घट्दै गएको छ।हिउँदमा बसाइँ सारेर आउने जलपक्षीले भरिभराउ हुने तालमा यस वर्ष थोरैमात्रै जलपंक्षी आएका हुन्। ताल र त्यसको वरिपरिको क्षेत्र मानव अतिक्रमणको चपेटामा परेपछि तालमा चराका प्रजाति घट्दै गएको हो। पहिला ३२ बिघा क्षेत्रफल भएको ताल खुम्चिँदै गएर २८ बिघामा सीमित भएको छ।

चरा तालमा लामबद्ध भएर पौडिँदै, डुबुल्की मार्दै गरेको र ताल वरिपरि उड्दै गरेको दृश्यले आन्तरिक पर्यटकलाई लोभ्याउँदै आएको छ। तालमा भएका माछा र चरालाई निकटवर्ती क्षेत्रका भारतीयले आएर मार्ने गरेको स्थानीय लक्ष्मण खत्रीले बताए। ताल संरक्षणमा कुनै पनि निकायले चासो नदिँदा ताल खुम्चिँदै गएको उनले बताए।

तालमा ४८ प्रजातिका जलपक्षी पाइने गरेका छन् भने रैथाने जातका १० बढी प्रजाति पाइने गरेका छन्। मङ्सिर र पुस महिनामा चराको चाप ताल क्षेत्रमा अधिक हुन्छ भने, गर्मी बढ्दै जाँदा चराका प्रजाति पुरानै क्षेत्रमा फर्कंने भएकाले घट्छन्। अहिले तालमा जलपक्षीको सङ्ख्या घटेर २० देखि ३० हाराहारीमा मात्रै देखा पर्ने गरेको स्थानीयले बताए।

चराको बासस्थानमा खलल पुगेपछि जलपक्षीको सङ्ख्या घट्दै गएको नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले बताए। गत वर्ष बेलौरी नगरपालिकाले ताल क्षेत्रको केही भागलाई पोखरी बनाई आयस्तरमा वृद्धि गर्न सिद्देश्वर सहकारी संस्थालाई प्रधानमन्त्री आधुनिकीरण कृषि परियोजनाअन्तर्गत दुई लाख ३१ हजार ६५० अनुदान रकम उपलब्ध गराएर तीनवटा पोखरी निर्माण गरी माछापालन गरिएको थियो।

जसबाट सहकारीले दुई लाख बढी आम्दानी गरेको थियो। स्थानीयले तालमा माछापालनको विरोध गरेपछि यस वर्ष भने माछापालनको काम गरिएको छैन। –रासस