नयाँ समीकरणले सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित
2023/02/26, 11:09
 
ss

नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले निरन्तरता पाउने सुनिश्चित भएको छ । संघमा फेरिएको समीकरणका कारण सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित रहने निश्चित भएको हो । 

योसंगै मुख्यमन्त्री कमलबहादुर शाहलाई राहत मिलेको छ । कुनै पनि दलको बहुमत नरहेको यो प्रदेशमा उनलाई विश्वासको मत पाउन सकस थियो । तर, राष्ट्रपति निर्वाचनका लागि संघमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी लगायतका आठवटा दलको नयाँ समीकरण बनेपछि शाहले विश्वासको मत नपाउने खतरा टरेको छ । उनी अब ‘सेफ जोन’ मा प्रवेश गरेका छन् । 

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पद्मुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा अहिले नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलत सरकार छ । माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ ।

मुख्यमन्त्रीले सम्भवतः फागुन १८ गते नै विश्वासको मत लिने नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताए । यहाँ विश्वासको मत प्राप्त गरेर राष्ट्रपतिको निर्वाचनमा भाग लिने उल्लेख गर्दै उनले केन्द्रमा बनेको समीकरणले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत पाउन अझ सहज भएको बताए । उनले नेकपा (माओवादी केन्द्र) ले अब सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने उल्लेख गरे । 

‘हामीलाई नेकपा (माओवादी केन्द्र) ले पहिले पनि साथ दिने अवस्था थियो । किनभने, मध्यावधि निर्वाचन कसैले चाहदैन’, उनले भने,‘केन्द्रमा भएको सहमतिले अब विश्वासको मत प्राप्त गर्न अझ सजिलो भएको छ ।’ सम्भवतः अब नागरिक उन्मुक्ति पार्टीले पनि यो सरकारलाई विश्वासको मत दिने बमको विश्वास छ । 

सुदूरपश्चिम प्रदेश सभामा दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले पनि कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने वातावरण बन्दै गएको बताएको छ । सो पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य झपटबहादुर साउँदले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए । ‘हुन त केन्द्रबाट पनि केही निर्देशन आउला तर, संघमा भएको सहमतिले विश्वासको मत दिने वातावरण बनेको छ’, उनले भने,‘हाम्रो पार्टीले विश्वासको मत दिन्छ ।’ 

नेपाली कांग्रेसले प्रतिपक्षी दल भएर पनि यसपाली प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो । ‘त्यस्तै, दुई वटा प्रदेशमा पनि नेपाली कांग्रेसले हाम्रो पार्टीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ’, साउँदले भने,‘नेपाली कांग्रेसले सहयोग गरेका कारणले पनि हामीले कांग्रेसलाई विश्वासको मत दिनुपर्छ ।’ 

सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएमा प्रदेश सरकारमा सहभागी पनि हुने माओवादी नेताहरुको भनाइ छ । ‘विश्वासको मत दिइसकेपछि हाम्रो पार्टी सरकारमा पनि जान्छ’, नेकपा (माओवादी केन्द्र) का अर्का प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल) ले बताए । यद्यपि, विश्वासको मत दिने र प्रदेश सरकारमा सहभागी हुने टुङ्गो संसदीय दलको बैठकले लगाउने नेताहरुको भनाइ छ । ‘हाम्रो दलको बैठक छिट्टै बस्छ’, प्रदेश सभा सदस्य साउँदले भने,‘सबै कुराको टुङ्गो त्यहि बैठकबाट लाग्नेछ ।’ 

सुदूरपश्चिमका मुख्यमन्त्री शाह मुख्यमन्त्रीमा नियुक्त भएको आधाभन्दा बढी महिना बितिसकेको छ । बहुमत नपुगेका कारण उनले विश्वासको मत पाउनका लागि दौडधुप बढाएका थिए । त्यस्तै, प्रदेश सभाबाट विश्वासको मत लिने तिथिमिति पनि तय गर्न सकेका थिएनन् । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत पु¥याउनका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ । सत्तारुढ दल नेपाली कांग्रेसबाट १९, नेकपा (एकीकृत समाजवादी) बाट चार जनाको प्रदेश सभामा प्रतिनिधित्व छ । तर, बहुमत पुगेको छैन । प्रदेश सभामा दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) को समर्थन भएमा सरकारलाई सजिलै बहुमत पुग्नेछ । सात जना सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेमा यो सरकार अझ बलियो हुनेछ । 

प्रदेश सभामा नेकपा (एमाले) बाट १०, राप्रपाबाट एक जना प्रदेश सभा सदस्य छन् । यसैगरी, एक जना स्वतन्त्रबाट निर्वाचित सदस्य रहेका छन् । स्वतन्त्रबाट निर्वाचित सदस्यले पनि कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिन सक्ने बताइन्छ ।