रैकवार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर, ४१६ जनाको स्वास्थ्य परीक्षण 
2023/02/26, 11:21
 
ss

कृष्णपुर नगरपालिकाको आयोजना र केजि अस्पताल धनगढीको प्राविधिक सहयोगमा कृष्णपुर नगरपालिका वडा नम्बर ८ को रैकवार स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शनिवार रैकवार स्वास्थ्य चौकीमा एक औपचारिक कार्यक्रममा नगरप्रमुख हेमराज ओझाले स्वास्थ्य शिविरको शुभारम्भ गरेका हुन्।

नगरपालिकाका वडा न ७, ८ र ९ का नागरिकलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त स्वास्थ्य शिविरमा जनरल फिजिसियनद्वारा चेकजाँच, हाड जोर्नी तथा नसा रोग ,स्त्री तथा प्रसुती रोग सम्बन्धि चेकजाँच, जनरल सर्जरी सम्बन्धि सेवा, दन्तरोग सम्बन्धि चेकजाँच र निशुःल्क हाइड्रोसिलको शल्यक्रिया सेवा प्रदान गरिएको थियो।

नागरिकसँग मेयर कार्यक्रमको दोश्रो चरण अन्तर्गत विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख हेमराज ओझाले बताए। उनले विकास निर्माणका कामहरु निरन्तर भइरहने र केही ढिला भए पनि त्यति फरक नपर्ने तर मानवको स्वास्थ्य संवेदनशील विषय भएकाले आफूले कृष्णपुरका जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए।

उनले नियमित भैराख्ने विकासे बजेटबाट रकम कट्टी गर्दै स्वास्थ्य क्षेत्रमा बढी रकम छुट्याएको बताए। नगरवासीको स्वास्थ्यप्रति आफू संवेदनशील रहेको र नागरिकका पक्षमा केही न केही देखिने गरि काम गर्न खोजेको भन्दै आगामी दिनमा नागरिकसँग मेयर कार्यक्रमलाई बृहत् बनाउने सोच रहेको नगरप्रमुख ओझाले बताए।

केजि अस्पताल धनगढीका निर्देशक डाक्टर दिपक सिंहले स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न नगरपालिकासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सहकार्यले निरन्तरता पाउने बताएका छन् । उक्त स्वास्थ्य शिविरमा ४१६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्काले बताए। डाक्टर सिंहले आफूहरु स्थानीय तहसँग काम गर्न इच्छुक रहेको बताउँदै कृष्णपुरका जनतासँग जोडिने मौका दिएकोमा नगरप्रमुख ओझालाई धन्यवाद दिए।

डाक्टर सिंहले कृष्णपुर नगरपालिकाको पहिचान खुल्ने कागजसहित अस्पतालमा सेवा लिन आउने कृष्णपुरका नागरिकलाई सहुलियतमा सेवा दिने प्रतिबद्धता व्यक्त गरे। कृष्णपुर नगरपालिकाले माघ ३ देखि २० गतेसम्म नागरिकसँग मेयर ९स्वास्थ्य सम्बन्धि ० कार्यक्रम आयोजना गरेको थियो। त्यसैगरी, धनगढी नेत्रालयसँग सहकार्य गर्दै १० दिने आँखा शिविरको पनि आयोजना गरिएको थियो।

कृष्णपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष एवं रैकवार स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दिनेश खड्काको अध्यक्षतामा सम्पन्न स्वास्थ्य शिविरको प्रमुख अतिथिमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहेका थिए।