विश्वासको मत लिने तयारीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह
2023/02/27, 11:39
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री बनेपछि दोस्रो पटक काठमाडौँ पुगेका शाहले विश्वासका मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गरेका हुन् ।  विश्वासको मत तथा सुदूरपश्चिम सरकारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहबीच बालुवाटारमा आइतबार साँझ भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड सहित गठबन्धका नेताहरु संग राजनितिक भेटवार्तागरी मुख्यमन्त्री शाह प्रदेश राजधानी धनगढी पुगेका छन् । कुराकानीमा मुख्यमन्त्री शाहले भने, ‘सौहार्दपूर्ण वातावरणमा प्रधानमन्त्री प्रचण्ड सहित नेताहरु संग कुराकानी भएको छ । विश्वासको मत लिने कुरामा छलफल भयो । सकारात्मक प्रतिक्रिया पाए । आज शीर्ष नेताहरुबीचको थप छलफलपछि विश्वासको मत लिने मिति पनि तय हुन्छ ।’

मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिन पछि काठमाडौँ गएका शाहले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित नेता कार्यकर्तासँग भेट गरेका थिए तर विश्वासको मत पाउने सुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले विश्वासको मत लिन खोजेका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले निरन्तरता पाउने सुनिश्चित भएको छ । संघमा फेरिएको समीकरणका कारण सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित रहने निश्चित भएको हो ।  ‘उहाँले अब विश्वासको मत लग्ने गरी तयारी थाल्नु भएको छ, कांग्रेसका एक प्रदेश सभा सदस्यले भने, ‘त्यसका लागि छिट्टै प्रदेश सभा बैठक आह्वान गर्ने तयारी पनि गरिएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीका कैलाली संयोजक दीर्घ सोडारीले विश्वासको मत लिन अब अप्ठ्यारो नभएको बताए । ‘मुख्यमन्त्रीज्यूलाई विश्वासको मत पाउन अव कुनै सकस हुनेछैन,अब हामी करिब दुई तिहाइ मतका साथ सरकार सञ्चालन गर्नेछौँ, र अब यो सरकार दिगो पनि हुने छ ।’ उनले भनेका छन्।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य रमेस सिंह धामीले पनि अव मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनाए । उनले राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा ८ दलीय गठबन्धन बनेको बताउँदै सोही गठबन्धनको जोडबलमा अव प्रदेशमा पनि सरकारहरू बन्ने बताए ।

राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीसहित आठ दलिय गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सजिलै विश्वासको मत पाउने परिस्थिति बनेको हो ।  संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका नेकपा एमालेका राजेन्द्र सिंह रावलले प्रदेश सभामा एक महिनाभित्र विश्वासको मत लिन नसकेपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री शाह नियुक्त भएका थिए । शाह माघ २६ गते नियुक्त भएका हुन ।

५३ सदस्यीय प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा एसका ४ जना प्रदेश सभा सदस्य रहेका छन् । चार वटै दल र एक स्वतन्त्रगरी मिलेर सरकार बनेको स्थितिमा सुदूरपश्चिम प्रदेश सभामा सरकारसँग ४२ जना प्रदेश सभा सदस्य हुने छन् । सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन आवश्यक पर्ने बहुमत संख्या २७ हो ।