सुदूरपश्चिममा ट्राफिक नियम उल्लङ्घन बढ्दो, ७ महिनामै करिब ४ करोड राजश्व सङ्कलन
सवारी दुर्घटनाबाट १ सय ३ को मृत्यु
2023/02/27, 1:57
 
सवारी दुर्घटनाबाट १ सय ३ को मृत्यु

धनगढी – सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा सवारी साधन कारबाहीबाट पौने चार करोड भन्दा बढीको राजश्व सङ्कलन गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीले चालु आर्थिक वर्षको माघ मसान्त सम्म ३ करोड ५३ लाख २९ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ भने फागुनमा २४ लाख १ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ । फागुन १३ गतेसम्मको तथ्याङ्क अनुसार कार्यालयले कुल ३ करोड ७७ लाख ३१ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी नेत्रमणि गिरीका अनुसार कार्यालयले चालु आर्थिक वर्षको माघ महिनामा मात्रै ६९ लाख ६८ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा माघमा सबै भन्दा बढी राजश्व सङ्कलन भएको एसपी गिरीले बताए । 

उनले चालु आर्थिक वर्षको हालसम्म कार्यालयले ६१ हजार ५ सय ३० सवारी साधनलाई कारबाही गरेको उनले बताए । कारबाहीमा परेका सवारी साधनहरूबाट नै उक्त राजश्व सङ्कलन भएको हो । कारबाही गरिएका सवारी साधनहरू मध्ये सबैभन्दा बढी स्कुटर तथा मोटरसाईकलहरु रहेका छन् ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नै ट्राफिक कार्यालय सुदूरपश्चिमले साढे ३ करोडको राजश्व सङ्कलन गरिसकेको छ । गत आर्थिक वर्षमा कार्यालयले ५ करोड ४१ लाख ९४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । पछिल्लो ४ वर्षको तथ्याङ्क हेर्दा कार्यालयले राजश्व सङ्कलनमा वृद्धि गर्दै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा कार्यालयले ५६ हजार १ सय ५३ सवारी साधनलाई कारबाही गर्दै ३ करोड ३१ लाख ९९ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको थियो भने २०७७/०७८ मा ७९ हजार ८९ सवारी साधनलाई कारबाही गर्दै ४ करोड ५७ लाख ६७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा भने ५ करोड भन्दा बढीको राजश्व सङ्कलन गरेको थियो । कार्यालयले ९७ हजार १ सय ७ सवारी साधनलाई कारबाही गरी उक्त आर्थिक वर्षमा ५ करोड ४१ लाख ९४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । एसपी गिरीले सवारी चेकजाँचमा कडाइ गरिँदा राजश्व सङ्कलनमा वृद्धि भइरहेको बताए । 

दुर्घटनाबाट १०३ को मृत्यु

चालु आर्थिक वर्षमा सवारी दुर्घटनाबाट मात्रै १ सय ३ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्त सम्म सुदूरपश्चिममा सवारी दुर्घटनामा परी १ सय ३ जनाको ज्यान गएको छ ।

जसमध्ये सबैभन्दा बढी कार्तिकमा २७ जनाले ज्यान गुमाएको एसपी गिरीले बताए । उनले श्रावणमा ११, भदौमा ९, असोजमा १२, मङ्सिरमा २२, पुषमा १२ र माघमा १० जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको बताए ।

प्रदेश भरी चालु आर्थिक वर्षको माघ मसान्त सम्म १७० वटा सवारी दुर्घटनाहरू भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २८५, २०७७/०७८ मा ५६२ र २०७८/०७९ मा ५०१ सवारी साधन दुर्घटनामा परेका थिए । सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने पछिल्लो दुई वर्षको तुलनामा दुर्घटनाका घटनामा कमी आएको देखिन्छ ।