सीमावर्ती बजारमा भारु लेनदेन घट्यो
2023/02/28, 12:18
 
सीमावर्ती बजारमा भारु लेनदेन घट्यो

कञ्चनपुर - कञ्चनपुरको बेदकोट नगरपालिका–५ का जयराज जोशी महेन्द्रनगरस्थित एक पेट्रोल पम्पमा लाइन बसेका थिए । बिक्रेताले सुरुमै सोधे, ‘तपाईंसँग भारु छ कि नेरु ?’ जोशीले भारु भएको बताए । बिक्रेताले भारु नचल्ने भनेपछि जोशी पेट्रोल नहालेरै फर्किए ।

केही समयअघिसम्म सीमावर्ती बजारमा किनमेल तथा उपचारका लागि जान भारुको हाहाकार हुन्थ्यो । नेपालतर्फ पनि भारु देख्नेबित्तिकै संकलन गरेर राख्थे । नेरुबाट भारु सटहीका लागि कमिसन पनि दिनुपर्थ्यो । तर अहिले ठीक उल्टो भएको छ । नेपालमा भारतीय रुपैयाँ कमजोर हुनुका साथै कतिपय ठाउँमा कारोबार नै नहुने अवस्था आएको छ ।

‘बजारमा मात्रै होइन गाउँमा पनि भारु नचल्ने अवस्था आयो,’ जोशी भन्छन्, ‘दस/बीसका नोट पनि चलाउँदैनन् ।’ उनका अनुसार ग्रामीण भेगमा सय भारु डेढ सय नेरुमा चलिरहेको छ । पाँच सय र हजारका नोट त झनै चलाउनै मान्दैनन् ।

भारतमा रोजगारी गरेर घर फर्किनेहरूका लागि पनि अहिले भारुबाट नेरु सटही चिन्ताको विषय हुन थालेको छ । व्यापारीहरूले नेरु साटदा कमिसन लिने गरेका छन् । पाँच सय भारु सात सयमै चलाउने गरेको उनीहरू बताउँछन् ।

भारतको उत्तराखण्ड र उत्तरप्रदेशबाट आँखाको उपचारका लागि ठूलो संख्यामा भारतीयहरू आउने गरेका छन् । भारु कमजोर हुँदा उनीहरू पनि मारमा परेका छन् । यात्राका क्रममा सुरुमा भारु लिनै नमान्ने तथा लिए पनि कम मूल्यमा चलाउने गरेका कारण उनीहरू मारमा परेका हुन् । ‘पाँच सय भारु चार/चाढे चार सयमै चलाउँछन्,’ कैलालीको गेटास्थित आँखा अस्पतालमा उपचार गराएर फर्किएका एक भारतीय नागरिकले भने, ‘सुरुमा भारु चलाउँदैनौं भने तर हामीसँग नेपाली रुपैयाँ छैन भनेपछि कम मूल्यमै चलाए ।’

नेपाली बजारमा भारतीय रुपैयाँ कमजोर हुन थालेको पुस–माघदेखि हो । हाल आएर चलनचल्तीमै समस्या देखिन थालेको छ । भारततर्फको कारोबार कम हुँदै गएको र भारु भित्रिने क्रम यथावत् रहेकाले अहिले भारु कमजोर देखिएको सुदूरपश्चिम विश्वविद्यालयका योजना प्रमुख तथा अर्थशास्त्रका सहप्राध्यापक सुरेश भण्डारी बताउँछन् । उनका अनुसार पछिल्लो समय उपचारदेखि किनमेल सबै स्वदेशी बजारमै हुने भएकाले भारुको माग कम हुँदै गएको छ ।

‘विगतमा किनमेलदेखि उपचारका लागि भारुको धेरै भाग थियो, अहिले त्यो छैन,’ योजना प्रमुख भण्डारीले भने, ‘भारु भित्रिने क्रम यथावत् छ, तर खर्च भइरहेको छैन, त्यही भएर कमजोर देखिएको हो ।’ स्थानीय बजारमै व्यापार व्यवसाय बढेका कारण पनि भारु कमजोर भएको सहप्राध्यापक भण्डारी बताउँछन् ।

नेपालमा सयभन्दा माथिका भारतीय नोटहरू प्रतिबन्धित छन् । तर भारतबाट घुमफिर, किनमेल र उपचारका लागि आउनेले बोक्नका लागि सहज हुने भएकाले ठूला नोट ल्याएर आउँछन् । भारतबाट रोजगारी गरेर फर्किनेहरूले पनि ठूलो मात्रामा प्रतिबन्धित नोटहरू ल्याएर फर्किन्छन् । हुन्डीको कारोबार बढेका कारण पनि भारुको बिगबिगी भएको व्यवसायीहरू बताउँछन् ।

तिनै प्रतिबन्धित नोट धेरै भएका कारण अहिले भारु कमजोर भएको कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जंगबहादुर मल्ल बताउँछन् । भागेश्वर मनि चेन्जरका सञ्चालकसमेत रहेका उनले प्रतीतपत्र (एलसी) मार्फत मालसामान आयात हुन थालेका कारण पनि भारु थन्किएको बताए ।

नेपाल राष्ट्र बैंक सुदूरपश्चिम प्रदेश प्रमुख विनोद लेखकका अनुसार नेपालमा औपचारिक रूपमा चलनचल्तीमा नरहेका ठूला नोटहरू धेरै मात्रामा थन्किएका कारण भारु कमजोर हुन पुगेको हो । उनका अनुसार नेपालमा औपचारिक रूपमा चलनचल्तीमा सय र त्यसभन्दा साना नोट मात्रै छन् । दस/बीस र सयका नोट अहिले पनि कमजोर नभएको लेखक बताउँछन् ।

धनगढीस्थित राष्ट्र बैंकको प्रदेश कार्यालयले पनि भारु कमजोर भएको विषयमा अध्ययन गरेको छ । माघ अन्तिम साताको अध्ययनअनुसार भारतबाट धेरै मात्रामा ठूला नोटहरू भित्रिएका छन् । ती कसरी भित्रिए भन्ने अध्ययन हुन सकेको छैन । उनले यस बारे अध्ययनका लागि विदेशी विनिमय व्यवस्थापन विभागलाई अनुरोध गरिएको बताए । राष्ट्र बैंकको प्रदेश कार्यालयबाट महिनामा ४ लाख बढी भारु सटही हुने गरेकोमा अहिले एक लाख पनि सटही नभएको लेखकले बताए । ‘भारु बाहिरै छ्यापछ्याप्ती छ, बैंकमा आउनै पर्दैन,’ उनले भने, ‘भारु कमजोर हुँदा सीमावर्ती क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको छ ।’