शिशुको गर्भमै मृत्यु, आमाको हेलिकोप्टर मार्फत् उद्धार
2023/02/28, 6:18
 
ss

दार्चुलाको अपी हिमाल गाउँपालिकाकी सुरन्ती बोहराले गर्भमै शिशु गुमाईन । सुत्केरी व्यथा लागेपछि ६ घण्टा हिँडाइएकी सुरन्ती बोहराको गर्भमै शिशुको मृत्यु भएको हो। आमाकोसमेत ज्यान जोखिममा परेपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ। अपी हिमाल गाउँपालिका–३ का २२ वर्षीया सुरन्तीलाई सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो। चिकित्सकले सोमबार राति मृत शिशु निकालेको खण्डेश्वरी स्वास्थ्य चौकीले जनाएको छ। 

गाउँमा स्वास्थ्य केन्द्र नहुँदा सुरन्तीलाई सुरुमा दुई घण्टा हिँडाएर पालिकाको पाथास्थित आधारभूत स्वास्थ्य इकाई पुर्‍याइएको थियो। स्थानीय स्वास्थ्य चौकीमा उपचार असम्भव भएपछि राष्ट्रपति महिला उद्धार कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सुरन्तीलाई सुर्खेत रिफर गरिएको अपी हिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह बोहराले जानकारी दिए ।  पेट भित्रै बच्चाको निधन भएको र आमाको समेत स्वास्थ्य अवस्था गम्भीर देखिएको उहाँको भनाइ छ। दुई दिनदेखि सुत्केरी बेथा लागेकी सुरन्तीको पेटमै शिशुको मृत्यु भएको सोमबार बिहान मात्र थाहा भएको खण्डेश्वरी स्वास्थ्य चौकीकी सिनियर अनमी लालुदेवी रोकायाले बताए । 

दुर्गम अपी हिमाल गाउँपालिकाको विकटको बस्ती क्षेत्रमा स्वास्थ्य संस्था छैनन्। राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत् उद्धार गरिएकी सुरन्तीको सुर्खेतमा उपचार भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।