‘रानीजमरा–कुलरिया सिँचाइ आयोजना’ बाट बिजुली बल्ने मिति तेस्रो पटक सर्‍यो
दोस्रो चरणको गुरु योजना तयार हुँदै
2023/03/01, 4:06
 
‘रानीजमरा–कुलरिया सिँचाइ आयोजना’ बाट बिजुली बल्ने मिति तेस्रो पटक सर्‍यो

कैलाली - राष्ट्रिय गौरवको ‘रानीजमरा–कुलरिया सिँचाइ आयोजना’ बाट बिजुली बल्ने मिति तेस्रोपटक सरेको छ। पहिलोपटक २०७९ असार, दोस्रोपटक २०७९ असोज र तेस्रोपटक २०७९ चैतबाट बिजुली उत्पादन हुने जनाएको आयोजनाले फेरि २०८० असारसम्म म्याद सारेको छ।

चैतमा बिजुली बाल्ने योजनाअनुसार गत कात्तिकमा जेनेरेटरलगायत मेसिन जडान गरिएको आयोजनाका सूचना अधिकारी प्रेम लासिवाले बताए। तर, उक्त स्थानमा पानी पसेपछि बिजुली बाल्ने म्याद फेरि सार्नुपरेको उनको भनाइ छ। ‘ती मेसिनमा पानी पस्नु हुन्थेन तर अप्रत्याशित पानी पस्यो र जडान भइसकेका मेसिन निकालेर सफा गरी फेरि जोड्नुपरेको छ। त्यसले गर्दा बिजुली बाल्न ढिलाइ भयो,’ लासिवाले क्यापिटल नेपालसँग भने, ‘मेसिन राख्ने स्थानमा गेट निर्माणाधीन रहेकाले अस्थायी बाँध बनाएर पानी पस्न रोकिएको थियो। तर, बाँध भत्किँदा आयोजनामा असर परेको हो।’

आयोजनाले तेस्रोपटक म्याद सारेर चौथोपटक फेरि असारसम्म विद्युत उत्पादन गर्ने नयाँ योजना बनाएको छ। तर, असारमा पनि बिजुली बल्नेमा सूचना अधिकारी लासिवा आफैं विश्वस्त छैनन्। ‘योजना असारसम्म विद्युत उत्पादन गर्ने हो, कति पूरा गर्न सकिन्छ काम गर्दै गएपछि थाहा हुन्छ,’ उनले भने, ‘हालसम्म विद्युतको भौतिक प्रगति ९५ प्रतिशत सकिएको छ।’ रानीजमरामा जलविद्युत निर्माणको काम नेपालको तुँदी र भारतको फिउ कम्पनी जेभीले गर्दैछन्। सिँचाइ आयोजना भए पनि रानीजमराबाट पाँच मेगावाट विद्युत उत्पादन हुनेछ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना दुई चरणमा निर्माण हुनेछ। जसमध्ये पहिलो चरणको काम आर्थिक वर्ष २०६७/६८ मा सुरु भएको थियो। पुस समान्तसम्म पहिलो चरणको काम ५८.७० प्रतिशत सकिएको छ। २७ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वित्तीय प्रगति १६.२६ प्रतिशतमात्रै छ।आयोजनाबाट कूल ३८ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ। हाल पहिलो चरणअन्तर्गत २० हजार ३ सय हेक्टर क्षेत्रफलको निर्माण कार्य सञ्चालन भइरहेको छ। जसको म्याद २०८०/८१ सम्म छ। तर, उक्त अवधिमा निर्माण पूरा गर्न नसकिने आयोजनाको भनाइ छ। रानीजमरामा विश्व बैंक र सरकारको लगानी छ। जसमध्ये विश्व बैंकको लगानीमा निर्माण भइरहेको कामलाई आयोजनाले डेढ वर्ष म्याद थपका लागि अनुरोध गरिसकेको छ। तर, नेपालको लागानीमा बन्ने कामको म्याद थप प्रक्रिया अर्को वर्षमात्रै अघि बढ्ने छ।

दोस्रो चरणको गुरु योजना तयार हुँदै- 

आयोजनाको दोस्रो चरणबाट १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ। दोस्रो चरणको काम अघि बढाउन आयोजनाले गुरुयोजना तयार गर्दैछ। गुरुयोजना असारसम्म तयार हुने सूचना अधिकारी लासिवा बताउँछन्। तर, दोस्रो चरणको काम सुरु हुने समय आयोजनाले प्रष्ट पारेको छैन। तै पनि काम सुरु भएपछि करिब आठ वर्षमा निर्माण सक्ने लक्ष्य आयोजनाको छ।पहिलो चरणको निर्माण कार्य सकिएपछि मात्रै दोस्रो चरणको काम गर्नुपर्ने बाध्यता भने छैन। गुरुयोजना तयार भएर स्वीकृत भए दुवै चरणको काम सँगसँगै गर्न सकिने आयोजनाको भनाइ छ। आयोजनाका लागि चालू आर्थिक वर्ष २ अर्ब ९० करोड ६ लाख रुपैयाँ विनियोजन भएको छ। उक्त बजेटमध्ये ८० प्रतिशत रकम विश्व बैंकको हो। पुस मसान्तसम्म ४७ करोड २० लाख रुपेयाँ खर्च भएको छ।