धनगढी नगरपालिकाको पाँच तले भवनमा छैन स्तनपान कक्ष
2023/03/02, 10:19
 
nagarpalika

गत आइतबार बिहान ११ बजे तीन महीने शिशु च्यापेर धनगढी उपनगरपालिकाको कार्यालय पुगिन्। मेयरसँग भेटघाट गर्न धेरै समय पर्खिन्। बच्चा रून थाल्यो तर स्तनपान कक्ष नभएकाले वासरूममा गएर दुध चुसाउन बाध्य भइन्। 

“नगरपालिकाको भवन सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रालय भन्दा पनि शानदार छ। तर हामी जस्तो सेवाग्राहीका लागि यो भवन बनेको होइन रहेछ‚” ती महिलाले भनिन्। एक सातादेखि नगरपालिका धाइरहे पनि मेयरसँग भेट नभएको उनले गुनासो गरिन्।  “यति ठूलो भवनमा बच्चा बोकेर तल माथि गर्दागर्दै थाकिसकें‚” उनले भनिन्‚ “थुप्रै पटक आइसकें तर मेयरलाई भेट्न सकेको छैन। आज पनि मेयर बाहिर छन् रे।”

नगरपालिकाको भनव साढे ६ करोड रुपैयाँ खर्च गरेर गत असारमा निर्माण सकिएको हो। सुदूरपश्चिमको स्थानीय तहमध्ये सबैभन्दा बढी कर्मचारी रहेको उक्त नगरमा सेवाग्राही मात्रै नभई त्यहाँ कार्यरत महिला कर्मचारीलाई पनि स्तनपान गराउन समस्या छ। “नगरपालिकाको कर्मचारीमध्ये लगभग ३० प्रतिशत महिला कर्मचारी छन्‚” उपमहानगरपालिकाको महिला विकास शाखाका अधिकृत पंकजा जोशी भन्छिन्‚ “तर यहाँ लैंगिकमैत्री छैन। यहाँको संरचना बाहिर मात्रै आकर्षक छ।”

कार्यालयमा आउने धेरैजसो महिला सेवाग्राही महिला शाखामा आएर स्तनपान गराउने गरेको जोशीले बताउँछिन्। अघिल्लो कार्यकालमा स्तनपान कक्षका लागि भनेर सानो क्याबिन छुट्याइएको भए पनि अहिले त्यो ठाउँ पनि हटाइएको छ।

उपमहानगरका प्रशासकीय अधिकृत सुरेन्द्र कार्कीका अनुसार कार्यालयका ५०० कर्मचारीमध्ये १६० जना महिला छन्। कार्कीले भने‚ “सबै शाखा नयाँ भवनमा सरेको हुँदा पहिलेको स्तनपान कक्ष हटाइएको हो। पालिकाले स्तनपान कक्ष बनाउनुपर्छ भन्ने महिला शाखाबाट पटक पटक उठिरहेको छ। अब छिट्टै नै बनाउँछौं।”

टीकापुर नगरपालिकाकी कार्यालय सहयोगी राधा चौधरीले पनि कार्यालयमा स्तनपान कक्ष नहुँदा धेरै सकस भोगेको बताइन्। “सुत्केरी भएपछि दुई महीना बिदामा बसें। तेस्रो महीनादेखि बच्चा लिएर कार्यालयमा हाजिर भएँ।  घरबाट खाट ल्याएर कार्यालयको पछाडिपट्टिको बरन्डामा बच्चा सुताउँथे। खुला ठाउँ गर्मीमा घाम, हिउँदमा सिरेटो हुन्थ्यो‚” उनी भन्छिन्‚ “बच्चा हेरालु भए पनि खुला ठाउँमा दुध चुसाउन अप्ठ्यारो लाग्थ्यो। कहिले काहीं दुध चुसाइरहेको समयमा सेवाग्राही आइहाल्थे। जुन कारण मेरो बच्चाले पेटभरि दुध खाना पाउँदैनथे।” अहिले भने नगरपालिका कार्यालयमा स्तनपान कक्ष रहेको उनले सुनाइन्।