सुदूरपश्चिममा कोरोनाबाट एक जना पुरुषको मृत्यु, मृतकको संख्या ७ पुग्यो
2020/06/30, 5:41
 
korona

अछाममा पहिलो पटक कोरोनाबाट एक जना पुरुषको मृत्यु भएको छ । होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए । मधुमेहका बिरामी भई नियमित औषधी सेवन गरिरहेका उनको असार १४ गते आइतबार वयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका उनको रामारोशन गाउँपालिका वडा नम्बर ५ को कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ दिन बसी घर फर्केको ५ दिनमा मृत्यु भएको हो । असार ९ गते उनको आरडीटी परीक्षण गरी नेगेटिभ रिपोर्ट आएपछि ७ दिने होम क्वारेन्टाईनमा बस्ने गरी उनलाई घर पठाइएको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिए ।

असार १३ गते राती एक्कासी उनमा श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा पु¥याईएको थियो । मृत्यु पश्चात् उनी सँगै परिवारका अन्य २ जना बिरामी कुरुवा समेतको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उनको पोजेटिभ र अन्यको नेगेटिभ नतिजा आएको जनाइएको छ । मृतकको आईतबार नै सुरक्षित तरिकाले दाहसंस्कार गरिसकिएको छ । योसंगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको सङख्या सात पुगेको छ।