सुदूरपश्चिमका पूर्व डिआइजी सिंहले ६ जना प्रहरीलाई बर्खास्त गरेको आरोप
2023/03/04, 1:30
 
सुदूरपश्चिमका पूर्व डिआइजी सिंहले ६ जना प्रहरीलाई बर्खास्त गरेको आरोप

धनगढी - सुदूरपश्चिम प्रदेशमा एक महिने प्रहरी कमाण्डर समालेका प्रहरी नायव महानिरीक्षक (डिआइजी)अशोक सिंहले आफ्नो जन्म मिति विवादमा परेपछि राजीनामा दिएका छन्। जन्म मितिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका कारण बिवादमा तानिएपछि उनले फागुन १० गते पदबाट राजीनामा बुझाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि जन्म मिति फेरेर नागरिकता पेश गरेको विषयमा अनुसन्धान र सेवाबाट बर्खास्त हुने भएपछि पदबाट राजीनामा बुझाउनु परेको हो । उनको जन्म मिति नागरिकतामा विसं २०२४ हुनुपर्नेमा उनको शैक्षिक प्रमाणपत्रमा भने विसं २०२५ रहेको छ। जुन मिति नै प्रहरीको सिट रोलमा उल्लेख गरिएको थियो। डिआइजी सिंह सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख थिए। त्यतिमात्र होइन, उनी नेपाल प्रहरीको नेतृत्व गर्ने तहमा पुग्ने सम्भावनासमेत देखिरहेका थिए। यही चैत ११ गते सेवा अवधिको कारण हालका महानिरीक्षक धीरजप्रताप सिंहले अवकाश पाउँने छन्।

महानिरीक्षकको सम्भावनामा सिंह दाबेदार रहेपनी उजुरी परेपछि सिंहको राजीनामा स्वीकृत भइसकेको छ। अब त्यसपछि प्रहरी महानिरीक्षकमा नियुक्ति पूर्व डिआइजी सिंहको ब्याचले पाउनेछ। उनीमाथि जन्म मिति प्रकरणको आरोपसहित सुदूरपश्चिमको प्रहरी प्रमुख रहँदा प्रहरी अधिकारीहरूमाथि अत्याचार गरेको आरोप लागेको छ। ६ जना प्रहरीलाई बर्खास्त गरेको खुलासा पनी भएको छ। उनले ड्युटी सकेर कोठामा सुतिरहेको प्रहरी जवान र प्रहरी हवलदारको कोठामै प्रवेश गरेर केरकार गर्ने गरेर अनाबश्यक तनाव सिर्जना गरेको खुलेको छ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार सुदूरपश्चिमको एकमहिने बसाइका क्रममा डिआइजी सिंहले ६ जना प्रहरीलाई बर्खास्त गरेका थिए। कैलाली कारागारमा कार्यरत ४ जनासहित ६ जनालाई मादक पदार्थ सेवन ९मापसे० गरेको आरोप लगाउँदै सिंहले जागिरबाट बर्खास्त गरेर घर पठाएको बताइएको छ। स्रोतका अनुसार सिंहले राजीनामा दिएर घर गइसकेपनी बहालवाला हुँदा प्रहरी कर्मचारीलाई साह्रै दुःख दिएको बताइने गरेको छ । एक जना प्रहरी अधिकृतले दुःख जति पोखे पनि कमै हुने बताए।

ड्युटीमा हुँदा आचरणविपरीत काम गरे कारवाही गर्नु ठीकै भएपनी डिआइजी साबले बिना कारण प्रहरी जवान र हवलदारहरूको जागिर खाइदिइएको बताए। उनले भने, उनीहरूका पनि घरमा छोराछोरी, श्रीमती छन् होला, त्यही भएको जागिर पनि बिनाकारण गएपछि समस्या भएन’ सिंह राति पनि प्रहरी कर्मचारी सुतेकै कोठामा पुगेर केरकार गर्ने गरेको दाबी स्रोतले बताएको छ। ति प्रहरी अधिकृतले डिआइजी सिंहले प्रहरी कर्मचारीहरुसँग निकै तल्लो स्तरको व्यवहार गर्ने गरेका बताए। उनी माघ पहिलो साता सुदूरपश्चिमको प्रहरी प्रमुख भएर आएका थिए। सुदूरपश्चिमकै स्थानीय बासिन्दा समेत रहेका सिंहले हेडक्वार्टरका उच्च पदस्थ अधिकृतसँग जोरी खोज्दा प्रहरी मुख्यालयबाटै जन्म मिति घटाएर डिआइजीमा बढुवा भएको सूचना सञ्चारमाध्यममा चुहिएको स्रोतले बताएको छ।