धनगढी - कैलालीमा बन्द गरिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ। शनिवार बिहान पौने ९ बजे कैलालीको गोदावरी नगरपालिका–६ को खैरानास्थित पूर्वपश्चिम राजमार्गमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि बन्द गरिएको राजमार्ग खुलेको हो।
पूर्वपश्चिम राजमार्गमा माउन्ट सैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानकी ६५ वर्षीया बाचुबटै आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ। चालक धनगढी उपमहानगरपालिका–१३ मोहनपुरका ३५ वर्षीय तुल्सीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुलका बस चालकलाई नियन्त्रणमा लिएपछि राजमार्गमा गरिएको अवरोध हटेको र अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले बताए।
बसको ठक्करबाट गम्भीर घाइते भएकी आलेमगरको उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याउदै गर्दा मृत्यु भएको थियो। घटनाको विरोधमा स्थानीयले केहीसमय पूर्वपश्चिम राजमार्ग टायर बालेर अवरुद्ध गरेका थिए । सो स्थानमा प्रहरीहरु समेत परिचालन गरिएका थिए । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।