मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
एमालेका १० र राप्रपाका १ सांसदको मत विपक्षमा
2023/03/05, 4:26
 
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत प्राप्त

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त भएको छ । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत माग्ने कार्यसूची रहेको थियो । उक्त कार्यसूची अनुसार मत माग्नुभएका शाहलाई ४१ मत प्राप्त भएको हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा यस अघि एमालेका राजेन्द्र सिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि पदबाट राजीनामा गर्नुपरेको थियो । प्रदेश सभाको ठूलो दलको हैसियतले नेपाली काँग्रेस संसदीय दलका नेता शाहले मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । आजको बैठकबाट उहाँले काँग्रेसका १९ सहित, माओवादी केन्द्रका सभामुख बाहेक १०, नागरिक उन्मुक्तिका ७, समाजवादीका ४ र एक स्वतन्त्र सांसदसहित ४१ जनाको मत प्राप्त गर्नुभएको हो । नेकपा एमालेका १० र राप्रपाका १ सांसदले भने विपक्षमा मतदान गर्नुभएको थियो । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि २७ सांसद चाहिनेमा शाहले भने सुविधाजनक दुई तिहाइ बहुमत प्राप्त गर्नुभएको हो ।