सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकार खारेजीको माग
2023/03/05, 5:43
 
सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकार खारेजीको माग

धनगढी - सुदूरपश्चिम प्रदेश सभामा प्रदेश संरचना खारेज गर्नुपर्ने माग उठेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिन आह्वान गरिएको प्रदेश सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खेमादेवी बिष्टले सो माग गरेकी हुन्।

बैठकमा उनले भनिन्, ‘प्रदेश सरकारमा भ्रष्टाचार मात्रै मौलाइरहेको छ, जनताले पनि चाहेका छैनन्। जनता पनि प्रदेश संरचना खारेज गर्नुपर्छ भनेर रोडमा उत्रिरहेका छन्।’ साथै उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत पनि दिन नसकिने बताएकी थिइन्। राप्रपाले यसअघि एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। सुदूरपश्चिम प्रदेश सभामा राप्रपाबाट बिष्ट एक मात्रै सांसद हुन्।

मुख्यमन्त्री कमल बहादुर शाहले जम्मा खसेको ५२ मतमा ४१ मत पाए। जसमा बिपक्ष जम्मा ११ मत खसेको छ। जस् अनुसार मुख्यमन्त्री बहुमत प्राप्त गरेका छन्।केन्द्रमा बनेको नयाँ गठबन्धनमा आबद्ध दलहरू नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहलाई मत दिएका थिए।