सुदुरपश्चिममा ठूला उद्योगको संख्या शून्य, कैलालीमा उत्पादनमूलक उद्योग पनी कम
औद्योगिक कर्जा १४ प्रतिशतले वृद्धि
2023/03/08, 1:08
 
औद्योगिक कर्जा १४ प्रतिशतले वृद्धि

धनगढी - सुदुरपश्चिम प्रदेशमा ठुला उद्योगको संख्या शुन्य अवस्थामा रहेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार एउटा मात्रै मझौला उद्योग दर्ता रहेको प्रदेशमा ठूला उद्योग एउटै पनी नरहेको पाइएको हो। सुदूरपश्चिममा साना, घरेलु तथा लघु उद्योगको संख्या २६ हजार ६४४ उद्योग दर्ता भएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार यस प्रदेशमा साना उद्योग १९ हजार ३४१, घरेलु उद्योग २ हजार ४८७ र लघु उद्योगको संख्या ४ हजार ८३८ छ । साना, घरेलु र लघु उद्योगमध्ये सबैभन्दा धेरै कैलालीमै छन् । सुदूरपश्चिमको व्यापारिक केन्द्र एवं प्रदेश राजधानीसमेत रहेको कैलालीमा साना, घरेलु र लघु उद्योगको संख्या भने ५ हजार ४४१ छ । ९ हजार ३७९ साना उद्योग रहेको कञ्चनपुरमा घरेलु उद्योग दर्ता छैनन् । तर लघु उद्योगहरूको संख्या भने ८१ छ ।

कैलालीमा साना, घरेलु तथा लघु उद्योगको लगानी २३ अर्बभन्दा बढी रहेको घरेलु तथा साना उद्योग कार्यालय कैलालीले जनाएको छ । कार्यालयको गत पुस मसान्तसम्मको अभिलेखअनुसार यी उद्योगमा २३ अर्ब ४३ करोड ४७ लाख लगानी भएको छ । ती उद्योगहरूले ७६ हजार ५२५ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद ओझाका अनुसार रोजगार पाउनेहरूमध्ये ८ हजार ५८ जना महिला छन् । कैलालीमा १४ हजार ६८१ साना उद्योग सञ्चालनमा छन् । तीमध्ये ५ हजार ९४५ जना महिलाका नाममा सञ्चालित छन् । कैलालीमा सञ्चालित साना उद्योगमध्ये उत्पादनमूलक उद्योगको संख्या भने तुलनात्मक रूपमा कम छ ।

सञ्चालितमध्ये सबैभन्दा बढी कृषि उद्योगहरू छन् । कृषि उद्योगहरूको संख्या ६ हजार १३५ छ । सेवामुलक उद्योगहरूको संख्या ५ हजार ३८५ छ । उत्पादनमूलक उद्योगहरूको संख्या भने ३ हजार ८७ छ । पर्यटनमूलक उद्योग ६१ र पर्यटन उद्योग २ वटा छन् । सूचना प्रविधिमूलक उद्योगहरू ९ वटा र निर्माणमूलक उद्योग २ वटा दर्ता भएको कार्यालयका प्रमुख ओझाले बताए। रोजगारी सिर्जना भने उत्पादनमूलक उद्योगहरूले गरेको छ । यी उद्योगहरूबाट २९ हजार ३१४ जनाले रोजगारी पाएको अभिलेख छ ।

सेवामूलक उद्योगबाट २५ हजार ६३३ जना रोजगारी सिर्जना भएको छ । यस्तै कृषिमूलक उद्योगले २० हजार ८६९ जनालाई रोजगारी दिएको तथ्यांक छ । उद्यम सम्बन्धी तालिम र अनुदान कार्यक्रमले उद्यमी र उद्योगहरूको संख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय कैलालीका प्रमुख ओझा बताउँछन् । उनका अनुसार पाँच वर्षको अवघिमा कैलालीमा तीन हजार ८५६ जना उद्यमी सिर्जना भएको छ ।एक हजार १५ जना नयाँ उद्यमीहरूलाई प्रविधि पनि हस्तान्तरण गरिएको छ । प्रदेशमा कृषिमूलक उद्योगअन्तर्गत गहुँको पिठो, खाने तेल, प्रशोधित दूध, चामल, चिनी, काठ, सावुन, ईटा, रोजिन एण्ड टर्पेन्टाइन, कंक्रिट जस्ता उत्पादन तथा छन् । सेवामूलक उद्योगहरूमा विभिन्न सेवा प्रदायक कार्यालयसँग सम्बन्धित काम गर्ने उद्योगहरू र पर्यटनमूलक उद्योगहरूमा होटल रेस्टुरेन्टहरू छन् ।

औद्योगिक कर्जा १४ प्रतिशतले वृद्धि :-

नेपाल राष्ट्र बैंक धनगढीको प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८र०७९ मा गरेको आर्थिक गतिविधि सर्वेक्षणले सुदूरपश्चिममा औद्योगिक कर्जा लगानीमा १४।०३ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ । त्यस आर्थिक वर्षमा २७ अर्ब २७ करोड ८२ लाख औद्योगिक कर्जा लगानी पुगेको प्रतिवेदनमा उल्लेख छ ।