६५ करोड ठगेको आरोपमा अछामका पृथ्वी शाहविरुद्ध सङ्गठित अपराधको मुद्दा दर्ता
साढे ११ वर्ष थुनामा राख्न मागदाबी
2023/03/08, 6:53
 
साढे ११ वर्ष थुनामा राख्न मागदाबी

धनगढी -पृथ्वीबहादुर शाहविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगी र सङ्गठित अपराध मुद्दा दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदन बुझाएको एक हप्तामा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो।

उनीहरूविरुद्ध ब्युरोले ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो। प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो । सिआईबीले शाहलाई कम्तीमा साढे ११ वर्ष थुनामा राख्न मागदाबी लिनुपर्ने राय प्रतिवेदन दिएको छ । शाहबाट ठगिएका अमेरिकी नागरिकलाई क्षतिपूर्ति दिलाउन र आरोपीहरूलाई जरिवाना हुनुपर्ने पनि ब्युरोको ठहर छ ।

शाहले ठगी गरेर ४६ लाख अमेरिकी डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ गरी ६५ करोड नेपाल भित्र्याएको अनुसन्धानको निष्कर्ष छ। ब्युरोले गरेको अनुसन्धानबाट शाहले ४४ जना अमेरिकी नागरिकलाई ठगेर नेपालमा पैसा भित्र्याएको खुलेको छ । २४ जना अमेरिकीले शाहबाट ठगिएको जाहेरी दिएका छन् । पीडित अमेरिकी नागरिकले इमेल गरेर सिआईबीमा जाहेरी पठाएको बताइएको छ ।

शाहको समूहलाई पूर्वअर्थमन्त्री जनार्दन शर्माको संरक्षण रहेको थियो । शर्माले नेपाल राष्ट्र बैंक र सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि शाहको बैंकिङ कारोबार रोक्का गर्दा हस्तक्षेप गरेका थिए । विभिन्न ११ बैंकमा अनधिकृत पैसा आएपछि उक्त खाता रोक्का गरी राष्ट्र बैंकले विभागलाई पत्र लेखेको थियो । तर पूर्वअर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई अनधिकृत रुपमा ती सबै खाता खुला गर्न निर्देशन दिएका थिए । विभाग र राष्ट्र बैंकले अनुसन्धान गरिरहेको बेला पूर्वअर्थमन्त्री शर्माले लिखित निर्देशन दिई शंकास्पद ४० करोड रुपैयाँ छुटाउन हस्तक्षेप गरेका थिए ।