कञ्चनपुर वसपार्क पार्किङ्ग ठेक्कामा रकम घटेपनि शुल्क यथावत राखिदा अनियमिताको आशंका
2023/03/09, 3:35
 
कञ्चनपुर वसपार्क पार्किङ्ग ठेक्कामा रकम घटेपनि शुल्क यथावत राखिदा अनियमिताको आशंका

कञ्चनपुर - कञ्चनपुर महेन्द्रनगर वसपार्क पार्किङ्ग ठेक्कामा रकम घटेपनि शुल्क यथावत राखिएपछि ब्यवसायीले अनियमिताको आशंका गरेका छन्। भीमदत्त नगरपालिकाले ढिलो गरी लगाएको वसपार्क पार्किङ्ग शुल्क ठेक्कामा रकम घटेपनि शुल्क यथावत राखिएपछि ब्यवसायीले अनियमिता भएको आशंका गरेका हुन्।

नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि सम्झौता हुनु पर्ने ठेक्का यस पटक बहुवर्षिय बनाएर माघमा सम्झौता गरिएको छ। तीन वर्षका लागि दिइएको ठेक्का यस वर्षका लागि ७० लाखमा सम्झौता गरिएको छ । पार्किङ्ग शुल्कबाट गत वर्ष एक करोड बढी आम्दानी भएको थियो। गत वर्ष ९० लाखमा न्यूनतम अंक राखिएको ठेक्का बढाबढी भएर करोडमा गएको थियो । त्यस बाहेक वसार्कभित्र शौचालयको छुट्टै ठेक्का गरिएको थियो ।

यस वर्ष शौचालय सहित पार्किङ्ग शुल्कको ठेक्का झण्डै ७० लाखमा सम्झौता गरेकोे छ। गत वर्ष भन्दा रकम घटे पनि पार्किङ्ग शुल्क भने ३ सय ५० रुपैया लिने गरिएको छ। नगरपालिकाले ३१५ रुपैँया शुल्क तोकेकोमा ठेकदारले मूल्य अभिवृद्धि कर (भ्याट) सहित ३ सय ५० रुपैँया लिने गरेको छ। यातायात व्यवसायी विष्णु कँडेलले ठेक्काको घट्दा पनि पार्किङ्ग शुल्क यथावत हुन शंकास्पद विषय भएको बताएका छन्। उनले अघिल्लो वर्ष ९२ लाख न्यूनतम राखेर ठेक्का खोल्दा एक करोड भन्दा बढीमा गएको र त्यो बेला पनि ३५० रुपैँया रहेको बताए। तर अहिले ६७/७० लाखमा जाँदा पनि त्यति नै रहेकाले अनियमितता भएको स्पष्ट रहेको बताए।ठेक्का सम्झौता हुन अघि नगरपालिकाका कर्मचारीले पार्किङ्ग शुल्क उठाउँदै आएका थिए। उनीहरुले प्रति सवारी ३१५ रुपैँया लिने गरेका थिए। ठेक्का सम्झौता भएपछि भ्याट ३ सय ५० रुपैँया लिने गरिएको छ। यातायात व्यवसायी कँडलले नगरपालिकाका कर्मचारी र ठेकेदारले उठाउने शुल्क पनि फरक भएकोमा असन्तुष्टि जनाए। नगरपालिकाका कर्मचारी र ठेकेदारले उठाउँदा ३५ रुपैँया फरक पर्ने गरेको र यसमा नगरपालिकाले ध्यान दिनुपर्ने बताएका छन् ।