बैतडीमा बाढीजन्य विपद्मा उद्धारका लागि ‘रबर बोट’
2023/03/09, 3:53
 
बैतडीमा बाढीजन्य विपद्मा उद्धारका लागि ‘रबर बोट’

बैतडी - बाढीजन्य विपद्मा उद्धारका लागि बैतडीमा पहिलोपटक ‘रबर बोट’ उपलब्ध भएको छ । 

तटीय क्षेत्रमा हुने विपद्जन्य घटनाको समुचित व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित गृहमन्त्रालयको समन्वय तथा विश्वखाद्य कार्यक्रमअन्तर्गत मानवीय सहायतास्थलको सहयोगमा जिल्ला प्रशासन कार्यालयलाई ‘रबर बोट’प्राप्त भएको हो । 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार महाकाली, चमेलिया जस्ता ठूला नदीमा विभिन्न घटना भइरहने तर ‘रबर बोट’को अभावमा नदी, खोलामा फसेकाको उद्धार गर्न कठिनाइ भइरहेका बेला ‘रबर बोट’ले सहयोग पुग्नेछ ।  

उक्त ‘रबर बोट’लाई सीमा नाका झुलाघाटस्थित सशस्त्र प्रहरीको बिओपीमा राख्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सशस्त्र प्रहरीसँग ‘रबर बोट’सञ्चालन गर्ने गोताखोर टोली तथा अन्य जनशक्ति भएकाले उनीहरुलाई यो उपकरण दिइनेछ । केही दिनमै उक्त ‘रबर बोट’को परीक्षण गर्ने र त्यसपछि सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिनेछ । 

प्रजिअ पन्थीले भने, 'बाढीजन्य तथा अन्य विपद्ले पौडी खेल्न नजानेर डुबेर हुने घटनामा रबर बोटको प्रयोगले नदीमा खोजतलास गर्न सहज हुनेछ ।' रबर बोटको अभावमा नदीमा फसेकाको उद्धार गर्न योभन्दा पहिला निकै कठिन भइरहेको अवस्थामा अब सहज हुने विश्वास गरिएको छ । 
    
जिल्ला विपद् व्यवस्थापन समितिले विपद्जन्य घटना व्यवस्थापनका लागि उक्त क्षेत्रमा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायसँग भएका विपद् खोज तथा उद्धार सामग्रीको मर्मत गरेर चुस्तदुरुस्त राख्न आग्रहसमेत गरेको छ । यसका साथै विपद् पूर्वतयारी र प्रतिकार्य योजनासमेत बनाइएको छ ।