भत्किन र भासिन थाल्यो छ लेन सडक
2023/03/10, 1:36
 
ss

निर्माण भएको एक वर्षमै छ लेन सडक भत्किन र भासिन थालेको छ । दोस्रो प्याकेज अन्तर्गतको गेंटा क्षेत्रमा छ लेन सडक भत्किनुका साथै भासिन थालेको हो । पूर्व लेनको धनगढी एयरपोर्ट गेट, आरपी फ्लोवर मिल क्षेत्रमा छ लेन सडक भत्किरहेको छ । गाडी हिडेपछि धेरै ठाउँमा सडक भासिएको छ । पूर्वी लेनमा धेरै भारयुक्त गाडी कुदाइएका कारण सडक भासिनुका साथै भत्किन थालेको छ लेन सडक हेर्ने जिम्मेवारी पाएको महाकाली चार लेन पुल आयोजनाले जानकारी दिएको छ ।

तर, स्थानीयवासीको भने सडक निर्माण गर्दा रोलरले राम्ररी दबाउने कार्य नभएका कारण बनेको एक वर्षमै सडक भत्किन र भासिन सुरु भएको जिकिर छ । ‘निर्माण कम्पनीको लापरवाहीका कारण एक वर्षमै सडक बिग्रिने थालेको हो’, गोदावरी नगरपालिका–५ गेंटाका व्यवसायी सुदीप रानाले भने,‘यो बाटो राम्ररी दबाइएको थिएन ।’

उनका अनुसार सडक बिग्रेपछि दुर्घटनासमेत हुन थालेको छ । सडक भासिएका कारण पूर्वी लेनमा मोटरसाइकल चलाउन अप्ठ्यारो हुने गरेको छ । ‘मोटरसाइकल सिधा जाँदैन । हल्लिने गर्दछ । बिग्रेको सडकका कारण अस्ती हाम्रै छिमेकी दुर्घटना पर्नुभो । आठरदश लाख रुपियाँ उपचारमै खर्च भइसकेको छ’, उनले भने,‘एक लेनको बाटो हुँदा पनि यस्तो थिएन ।’

गतवर्ष निर्माण कार्य सम्पन्न भएको यो सडक अहिलेसम्म हस्तान्तरण भएको छैन । हस्तान्तरण नहुँदै सडक भत्किन र भासिन सुरु भएपछि बिग्रेको सडक ठेकेदारले बनाउनु पर्ने स्थानीयको माग छ । निर्माण गर्ने पक्षको कमीकजोरीका कारण सडक चाँडै बिग्रेको भन्दै गोदावरी नगरपालिका–५ गेटीका दानसिंह बोहराले निर्माण कम्पनीले फेरि बाटो बनाउनु पर्ने जिकिर गरे। 

‘यो ठेकेदारको लापरवाही हो’, उनले भने,‘सडक निर्माण गर्ने कम्पनीले फेरि बनाउनु पर्दछ ।’ 
छ लेन सडकको निर्माण कार्य २०७४ बाट अगाडि बढेको थियो । १४।२ किलोमिटर यो सडकलाई तीन खण्डमा विभाजन गरेर बनाउने कार्य भएको हो । दोस्रो खण्डको पूर्वी लेनमा सडक बिग्रिरहेको छ । यो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफेले ठेक्का पाए पनि निर्माणको कार्य राजेन्द्र निर्माण सेवाले गरेको हाल छ लेन सडकलाई हेरिरहेको महाकाली चार लेन पुल आयोजना कार्यालयले जानकारी दिएको छ ।  सो कार्यालयका प्रमुख रामबहादुर गुरुङले भत्केको र भासिरहेको छ लेन सडकलाई विज्ञको समूहले हेरिरहेको बताए । सडकमा अत्यधिक भार बोकेको गाडी कुदाउँदा त्यस्तो भएको उनले भने । 

‘अरु लेनमा नभइ एउटै लेनमा सडक बिग्रिन थालेको देखिएको छ’, गुरुङले भने,‘अत्यधिक भार बोकेको गाडी कुदाउँदा यस्तो भएको हो ।’ बाहिरबाट सामान बोकेर आउने गाडीहरु पूर्वी लेनबाट धनगढी प्रवेश गर्ने गरेका छन् । त्यसैले त्यहि लेनमा बाटो बिग्रेकोको आयोजनाको ठहर छ । बढी भारयुक्त गाडी प्रवेशमा ट्राफिक प्रहरीले कडाई गर्नु पर्ने गुरुङको भनाइ छ । 

कुनै पनि आयोजना सम्पन्न भइसकेपछि एक वर्षसम्म मर्मत सम्भारको अवधि रहने गर्दछ । र, बिग्रे, भत्केको सबै निर्माण कम्पनीले नै बनाउनु पर्दछ । छ लेन सडकको मर्मत सम्भार अवधि पनि आउँदो असोजसम्म रहेकाले बिग्रेको सडकलाई राजेन्द्र निर्माण सेवाले बनाउने गुरुङ्ले बताए । फागुन मसान्त वा चैतबाट मर्मतको काम थाल्ने निर्माण कम्पनीले बताएको उहाँले उल्लेख गरे । 

मर्मत कार्य पूरा भएपछि आउँदो असोजमा निर्माण कम्पनीले सडक डिभिजन कार्यालय महेन्द्रनगरलाई मोहना पुल–अत्तरिया छ लेन सडक हस्तान्तरण गर्ने जनाइएको छ । करिब एक अर्ब ६५ करोड रुपैयाँ लागतमा यो सडक बनाइएको हो । यस अन्तर्गत पर्ने खोलामा पुल र बाटो काट्नका लागि ओभरहेड पुल बनाउन अझै बाँकी रहेको छ । पहिलो प्याकेज अन्तर्गत तीन वटा र अर्को प्याकेजमा थप तीन वटा गरेर छ वटा ओभरहेड पुल बन्ने प्रमुख गुरुङले बताए।