शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४५९ प्रजातिका चरा
2023/03/10, 1:43
 
dd

कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको संख्या बढ्दै गएको छ । पछिल्लो अध्ययन अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको संख्या चार सय ५९ पुगेको प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले जानकारी दिनुभयो ।

“राष्ट्रिय निकुञ्जमा हरेक बेला चराहरुको अध्ययन भइरहेको हुन्छ अहिले यहाँ चराका प्रजातिको संख्या बढ्दै गएको छ ।” उहाँले भन्नुभयो–“शुक्लाफाँटामा विभिन्न समयमा बसाइसरेर पनि चराहरु आउने गरेका छन ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिने चराको प्रजाति पनि यहाँ रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोद कुमार यादवले बताउनुभयो । 
 यहाँ भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध र सारस लगायतका दुर्लभ चराका प्रजातिहरु रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

“यहाँ खरमयुर,सारस र विभिन्न समयमा गिद्ध पनि बसाइसरेर आउने गरेका छन ।” सहायक संरक्षण अधिकृत यादवले  भन्नुभयो–“शुक्लाफाँटामा विभिन्न प्रजातिका चराहरु हिउँदको समयमा बसाइसरेर आउने गरेका छन ।” नेपालमा पाइने आठ सय ८७ चराको प्रजाति मध्ये चार सय ५९ प्रजाति शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटामा दक्षिण एसियाकै ठूलो घाँसे मैदान, ३६ वटा पाटे बाघ, १७ वटा गैँडा लगायत वन्यजन्तु यहाँका आकर्षण हुन । 

 यहाँको घासे मैदानमा सर्यौको संख्यामा देखिने बाहसिंगाको झुण्डले यहाँ आउने पर्यटकहरुलाई लोभ्याउने गरेको छ । पछिल्ला वर्षहरुमा शुक्लाफाँटा भ्रमण गर्ने आन्तरीक पर्यटहरु संख्या समेत बढेको छ । अहिले निकुञ्जमा पर्यटक भित्रिने सिजन भएकाले पनि आन्तरीक पर्यटहरु बढेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज प्रशासनका अनुसार अहिले महिनामा चार÷पाँच सयको संख्यामा पर्यटक भित्रिने गरेका छन ।