युरोपियन युनियन सहित चार जना राजदूत सुदूरपश्चिममा
2023/03/13, 12:07
 
ss

युरोपियन युनियनका राजदूत नोना डिप्रेज सहित युुरोपियन युनियनका सदस्य राष्ट्रहरुका चार जना राजदूतहरुको टोली चार दिने सुदूर पश्चिम भ्रमणका क्रममा आज धनगढी आईपुगेको छ ।

चार जना राजदूतको यो पहिलो सुदूर पश्चिम भ्रमण हो । युरोपियन युनियनका राजदूत नोना डिप्रेजको नेतृत्वमा आएको टोलीमा युुनियनका सदस्य राष्ट्र जर्मनीका राजदूत थोमस प्रिन, फ्रान्सका राजदूत गिल्स बोरबाओ र फिनल्याण्ड राजदूत रिना रिक्का हेईक्का रहेकी छन् ।

सुदूरपश्चिम भ्रमणको पहिलो दिन आज बिहान उनीहरुले सेती प्रादेशिक अस्पतालको अवलोकन गर्नुका साथै अस्पतालको सेवा सुबिधाका विषयमा मेडिकल सुपरीटेण्डट डा.हेमराज पाण्डेयसंग छलफल गरेका छन् । त्यसपछि धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानासंग भेटेका छन् । धनगढी उपमहानरपालिकाका प्रमुख गोपाल हमाल काठमाण्डौंमा रहेकोले उपमेयरसंग छलफल गरिएको हो । 

चार दिने भ्रमणका क्रममा उनीहरुले युुुरोपियन युनियन तथा युुनियनका सदस्य राष्ट्रहरुको सहयोग तथा साझेदारीमा कैलाली, डोटी र डडेल्धुरामा सञ्चालित परियोजनाहरुको अवलोकन तथा सुदूरपश्चिमको विकासका सम्बन्धमा मुख्यमन्त्री तथा पालिका प्रमुखहरुसंग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।

युरोपियन युनियनका राजदूत र भ्रमण टोलीमा रहेका उसका राष्ट्रहरुका राजदूतहरुले बुधवार मुख्यमन्त्री कमल शाह र धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालसंग भेट्घाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

फिनल्याण्डको सहयोगमा सुदूर पश्चिममा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना आरभीडब्लुआरएमपी सञ्चालनमा छ । त्यस्तै हलियाको पुनस्र्थापना तथा जीविकोपार्जन र शसक्तिकरणमा समेत फिनल्याण्ड सरकारले सहयोग गर्दै आएको छ ।

राजदुतहरुको टोलीले जर्मन सरकारका तर्फबाट डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पतालमा गरिएको सहयोग र त्यसको प्रभावका बारेमा पनि जानकारी लिनेछ ।  जर्मन सरकारले ग्रेप परियोजना मार्फत सुदूर पश्चिममा सहयोग गर्दै आएको छ । युरोपियन युनियनका राजदूत र उसका सदस्य राष्ट्रहरुका राजदूतहरुले यसअघि गत वर्ष कर्णाली प्रदेशको भ्रमण गरेका थिए ।