मन्दीले व्यवसायी पलायन हुने चिन्ता
2023/03/13, 6:15
 
ss

बढ्दो महँगीले उपभोक्तासँगै व्यापारी तथा व्यवसायी पनि प्रभावित भएका छन् । व्यवसायीलाई एकातिर बिक्री घटेको चिन्ता छ, अर्कोतिर बैंकको चर्को ब्याजले तनाव दिएको छ । धनगढीस्थित सीताराम डेरीका सञ्चालक सीताराम भट्टले व्यापार स्वाट्टै घटेको बताए । २ हजार ५ सय लिटर दूध बिक्री हुने उनको डेरीमा अचेल एक हजार ५ सय लिटर मात्र बेचिने गरेको छ । ‘उपभोक्तालाई समस्या परेकै छ, अर्कोतिर हामी व्यवसायी त झन् दोहोरो चेपुवामा छौं,’ उनले भने । व्यापार पनि चौपट हुन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । व्यवसाय थेग्न सक्ने अवस्थाबाट बाहिर जान थालेको उनीहरूको गुनासो छ ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीबाट सात पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, दार्चुला, डडेलधुराका व्यापारले अधिकांश थोक सामान लिने गर्छन् । विगतमा बिक्री व्यापार गर्न भ्याइनभ्याई हुने धनगढीका व्यापारी अहिले फुर्सदिला झैं देखिन्छन् । निकै चहलपहल हुने धनगढी बजारका पसलहरू पछिल्ला दिनमा सुनसान देखिन्छन् । कोरोना महामारीले बिस्तारै तंग्रिन थालेको व्यापारिक माहोललाई पछिल्लो मन्दीले सताएको व्यवसायीहरू बताउँछन् ।

‘कुनै एउटा व्यवसाय मात्रै हैन, हरक्षेत्र प्रभावित भएको व्यापारीहरू बताउँछन् । खाद्यान्न होस् कि लत्ताकपडा, निर्माण सामग्री होस् कि इलेक्ट्रोनिक सबैतिर चौपट अवस्था छ,’ उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने, ‘सबै क्षेत्रको व्यापार व्यवसाय चौपट हुनै थाल्यो । पसलहरू बन्द गर्नुपर्ने अवस्था आइरहेको छ ।’ व्यापारीहरूले एकातिर बिक्री घटेको र अर्कोतिर उधारोमा गएको रकम पनि उठ्न नसकिरहेको ओझाले बताए ।

सन्देश हार्डवेयर पसल धनगढी चौराहका सञ्चालक लक्ष्मण शाहले व्यापार व्यवसाय लगभग शून्यमा झर्न थालेको सुनाए । ‘पहिलापहिला दैनिक डेढ दुई लाखको व्यापार हुन्थ्यो भने अहिले दैनिक ५० हजार पनि मुस्किलले पुग्छ । त्यो पनि कति त उधारै जान्छ,’ शाहले भने, ‘बिक्री परिमाण पनि कम भयो र मार्जिन पनि कम हुँदै गयो । अर्कोतिर बैंकको ब्याज भने घट्ने संकेत छैन । यही अवस्था हो भने एक वर्षभित्र धेरै व्यापार व्यवसायी चौपट भएर व्यापार छाड्ने अवस्थामा पुग्दै छौं ।’

बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदरमा वृद्धि गरेको भन्दै धनगढीका व्यवसायीले निरन्तर विरोध गर्दै आएका छन् । ब्याजदर वृद्धिको विरोधमा उद्योग वाणिज्य संघ कैलालीको नेतृत्वमा एक साताअघि व्यवसायीहरूले राष्ट्र बैंकमा धर्ना दिनुका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई पनि दबाबका कार्यक्रमहरू सञ्चालन गरेका थिए । ‘एकातिर आर्थिक मन्दी बढ्दो क्रममा छ । अर्कोतिर बैंकहरूले ब्याज रकम बढाएर १६ प्रतिशतसम्म पु¥याएका कारण धान्नै नसक्ने अप्ठेरामा छौं,’ ओझाले भने, ‘व्यापार छैन, ८ प्रतिशतमा लिएको ऋण १६ प्रतिशतसम्म पुगेपछि थेग्न सकिने अवस्था नै छैन ।’ असारसम्म त धेरैको घरजग्गा लिलामीमा जाने आइलागेको उनको भनाइ छ । ओझाले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए । राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनका कारण विरोधका कार्यक्रमहरू रोकिएको भए पनि सुनुवाइ नभए पुनः सशक्त बनाउने ओझाको भनाइ छ । आर्थिक मन्दी थेग्न नसक्नाले समग्रमा ५० देखि ८० प्रतिशत व्यापार घटिसकेको उनले बताए ।

मन्दीको असरले मूल्यवृद्धि पनि निरन्तर उकालो लागेको छ । किराना व्यवसायी संघ धनगढीका अध्यक्ष लक्ष्मण पन्तका अनुसार पाँच महिनाको अवधिमा मूल्यवृद्धि पनि निरन्तर उकालोतर्फ छ । पाँच महिनाअघि एक हजार दुई सयमा २५ किलोको बोरामा पाइने मोटा चामलको मूल्य अहिले साढे १३ सय पुगेको छ । मसिनो ९मनसुली चामल० एक हजार ६ सयमा २५ किलोको बोरा पाइँदै आएकोमा अहिले दुई हजार एक सय पुगेको छ । पन्तका अनुसार पिठोको मूल्य ५० रुपैयाँ प्रतिकिलोबाट बढेर ६५ भएको छ । दालहरूको मूल्यमा सरदर २० देखि २५ रुपैयाँ प्रतिकिलो बढेको छ ।

पन्तका अनुसार प्रतिकिलो पाँच सय रुपैयाँ पर्ने जिराको मूल्य अहिले ८ सय पुगेको छ । यस्तै, चिनी ८० मा पाइन्थ्यो अहिले ९० रुपैयाँ पुगेको छ । रातो खुर्सानी ४ सयबाट साढे पाँच सय प्रतिकिलो पुगेको छ । धनियाँ तीन सयबाट बढेर साढे तीन सय भएको छ । चाउचाउ लगायत वस्तुको मूल्य बढेको नदेखिए पनि हरेक उत्पादकले पहिलेकै मूल्य कायम गरेर तौल घटाएका छन् । ‘दस रुपैयाँको ९० ग्राम तौलमा आउने बिस्कुटको तौल अहिले ६० ग्राम बनाएको छ,’ पन्तले भने । पन्तले खाने तेलको मूल्य भने तुलनात्मक केही घटेको बताए ।