गरिबी छल्न थातथलो छोडेर तराई झर्दै
2023/03/14, 1:06
 
ss

पुरनसिंह ठगुन्ना अहिले ६० वर्षको भए । ३१ वर्षको पौरखी उमेर हुँदा उनको परिवारले दार्चुलाको मार्मास्थित गुल्जरमा गुजारा गर्न सकेन । गरिबीको चापले थातथलो छोड्न बाध्य बनायो ।

‘गरिबी छल्न २०५० सालतिर कैलाली झ¥यौँ’, उनले भने,‘अब यहाँ अभाव खेप्नु परिरहेको छैन ।’ परिवारमा धेरै सदस्य तर, आम्दानी थोरै । जसको कारण गुल्जरमा गुजारा गर्न गाह्रो थियो, उनको परिवारलाई । ‘पाँच जना दाजुभाईमात्रै भएकाले एकरदुई भाई तराई झरौं भन्ने कुरा भयो’, २९ वर्षदेखि कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित गैँडाखेरामा बसिरहनु भएका उनले भने,‘त्यसपछि म परिवारसहित गैँडाखेरा आएँ ।’ 

गैँडाखेरामा ठगुन्नाले डेढ बिघा ऐलानी जग्गा जोडिसकेका छन् । २०५० सालतिर गैँडाखेरा जङ्गल जस्तो थियो । त्यो बेला त्यहाँ सेवा सुविधा केहि थिएन । न सडक न त बिजुली । खानेपानी त अहिले पनि पुगेको छैन । केही सेवा सुविधा नभएकाले पाँच हजार कट्ठामा ऐलानी जग्गा बिक्री हुने गर्दथ्यो । ‘बस्नको लागि जेनतेन त्यहि जग्गा किँने’, ठगुन्नाले भने,‘अहिले डेढ बिघा जग्गा जोडिसकेको छु ।’

उनको जस्तै सुनिल ठगुन्नाको परिवार पनि गैँडाखेरामा आएर बसिरहेको छ । आफू १०÷१२ वर्षको हुँदा गुल्जार छोडेर आमाबुबा कैलाली झरेको सुनिल सुनाउँछन् । ‘यहाँ आएपछि ५ कक्षाबाट यतै पढेँ’, उनले भने,‘हामीले पनि १० कट्ठा जग्गा जोडिसकेका छौं ।’ सुनिलको परिवार दुई दशक अगाडि कैलाली आएको थियो । आफन्तहरु तराई झरेपछि आफ्नो आमाबुबा पनि यता आएको उनले बताए । 

दार्चुलाको मार्मा गाउँपालिकास्थित गुल्जरबाट कैलालीको गैँडाखेरामा बसाइँ सर्नेक्रम तीन दशक अगाडिबाट सुरु भएको थियो । अहिले यहि गाउँमामात्रै दार्चुलाका ७० परिवार आइसकेका छन् । एक परिवार वा आफन्त आएपछि उनीहरुलाई देखेर अरु पनि यतै आउने गरेको सुनिलले बताए । ‘अहिले त यहाँ सबैभन्दा बढी दार्चुलाकै मान्छे छन्’, उनले भने,‘तर, जन्मथलोको पनि माया लागिरहने गरेकाले बेला–बेला मार्मा पुगिरहने गर्दछौं ।’ 

कैलाली झरेका ‘दार्चुलेली’ हरुको पेसा कृषि र मजदुरी रहेको छ । कृषिमा परिश्रम गर्नुका साथै भारत गएर मजदुरी गर्ने कार्य उनीहरुले गरिरहेका छन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाबाटमात्रै नभइ अन्य प्रदेशको विकट पहाडी क्षेत्रबाट पनि कैलालीमा बसाइँ सरि आउनेक्रम बढेको छ । पहाडको कष्टकर जीवनबाट दिकदार भएकाहरु सुविधा खोज्दै दिनप्रति दिन तराई झरिरहेका छन् । त्यसरी बसाइँ सरेर आउनेहरुका लागि घोडाघोडीको गैँडाखेरा गाउँ उपयुक्त गन्तव्य बनेको छ । 

पुरानो थातथलो र त्यहाँको हावापानीको माया लाग्ने गरे पनि पहाडमा अभाव र गरिबी रहेका कारण तराई झर्न बाध्य भएको पुरनसिंहको भनाइ छ । ‘जन्मथलोको माया त किन नलाग्नु हजुर’, असहज हाउभाउ देखाउँदै उनले भने,‘तर, गरिबीले त्यहाँ बस्न दिएन ।’ 

गैँडाखेरामा दार्चुला, डोटी, अछाम, बाजुरा, दैलेख, सुर्खेत लगायतका जिल्लाबाट बसाइँ सरेर आएकाहरुको बसोबास छ । विभिन्न समयमा तराई झरेका ति सबै परिवारले यहाँ १० कट्ठादेखि दुई बिघासम्म जमिन बनाइसकेका छन् । उनीहरुले जग्गाको लालपूर्जा पाउने प्रक्रिया अगाडि बढेको छ ।  

तराईमा पहाडको जस्तो अभाव नरहेको र जनजीवन सहज रहेका कारण तराईतिर आकर्षण बढ्दो रहेको स्थानीय यमबहादुर गरन्जाले बताए । आफू सुर्खेतबाट गैँडाखेरा आएको उल्लेख गर्दै उनले भने,‘अहिले यो गाउँलाई ७६ जिल्लावासीको गाउँ पनि भन्ने गरिन्छ ।’ पहाडको जनजीवन अभाव र कष्टमा बित्ने गरेकाले सुविधा खोज्दै मान्छेहरु तराई झर्ने गरेको युवा अनुसन्धानकर्ता धीरेन्द्रबहादुर चन्दको बुझाइ छ । ‘पहाडमा जग्गा जमिन थोरै हुन्छ । बाटाघाटा, खानेपानीका समस्या छन्’, उनले अथाडि थपे,‘जसको कारण सुविधा खोज्दै मान्छेहरु तराई झरिरहेका छन् ।’ 

पहाडबाट तराईमा बढ्दो बसाइँसराइँका कारण पहाडका कुना कन्दरा सुनसान हुन थालेको बताइन्छ । त्यसको ठीक विपरित तराईमा भने मानव बस्तीको चाप बढ्दै गएको छ । तीव्र गतिमा भइरहेको बसाइँसराइँका कारण कृषियोग्य जमिन घट्दै गएको छ । उब्जनी हुने खेत घडेरीमा परिणत भइरहेको छ । पहाडबाट बसाइँसराइँ हुनेक्रम रोक्नका लागि त्यहाँको जनजीवन सहज बनाउन आवश्यक रहेको चन्दले औंल्याए । 

कैलाली, कञ्चनपुरमा अहिले बसाइँसराइँ गरेर आउनेक्रम तीव्र छ । पहाडमा जीवन जीउन कष्टकर भएकाहरु सुविधा खोज्दै तराई झरिरहेका छन् । सम्पन्न परिवारले सहरी क्षेत्रमा जग्गा घर जोडेर बसाइँसराइँ गरी बसिरहेका छन् भने, आर्थिक रुपले कम सम्पन्न परिवार ग्रामीण क्षेत्रमा । बसाइँसराइँ तीव्र भएका कारण कैलाली, कञ्चनपुरमा कृषियोग्य जमिन घट्दै गएको छ ।