बाजुराका अधिकांश बस्ती बेरोजगारीका कारण धमाधम खाली हुँदै गएका छन्। गाउँका प्रायः सबै युवा रोजगारीका लागि भारतमा जान थालेपछि पछिल्लो समय ती गाउँ दिनानुदिन खाली हुँदै गएका हुन्। बूढीगङ्गा नगरपालिका–१०, बदेडाका स्थानीय युवा पाउनु विकले गाउँमा गरेर खाने केही उपाय नभएपछि पेट पाल्नकै लागि गाउँ छोडेर भारत जानु परेको बताए।
उनले भने, “गाउँमा न त रोजागरीको अवसर आउँछ न त कुनै व्यवसायका लागि अनुदान मिल्छ। गाउँमा बसेर छोराछोरीको पढाइ खर्च त के बिहान बेलुकीको छाक टार्न पनि सकस हुन्छ।” अहिले गाउँमा पढेलेखेका युवा दिनदिनै भारत जान थालेको विकले बताउनुभयो। बूढीगङ्गा नगरपालिका–१०, तिमाडा, सेलापाखा, पाल्वाडालगायतका धेरै युवा अहिले भारतको विभिन्न ठाउँमा रोजगारी गरिरहेका छन्। भारतमा रोजगारी गरेर उनीहरूले गाउँमा छोराछोरीको पढाइ खर्च बेहोर्दै आएका छन्।
बाजुराको बूढीनन्दा, हिमाली, स्वामिकार्तिक, जगन्नाथ, गौमूल, बडीमालिका त्रिवेणी, बूढीगङ्गा, खप्तडछेडेदहका अधिकांश युवा हिउँद लाग्नेबित्तिकै रोजगारीका लागि भारत जाने गर्दछन्। हिउँदका महिनामा भारत गएर पैसा कमाउने र बर्खाका केही महिना फेरि गाउँमा आएर खेती लगाउने त्यहाँका युवाको पहिलेदेखि अहिलेसम्म चलनचल्तीकै रूपमा रहेको छ।
स्थानीय तहले भने गाउँमै युवाका लागि विभिन्न कृषि कार्यक्रम सञ्चालन गरेको बताएको छ तर युवा भने दिनानुदिन गाउँ छोडेर भारतमा जाने गरेका छन्। गाउँमा युवाले चाहेजस्तो रोजगारी नमिलेपछि बाजुराका अधिकांश युवा भारत पलायन हुन बाध्य छन्। गाउँमा प्रशस्त जमिन भए पनि सिँचाइ छैन। त्यसैले हिउँदको महिना खेती गर्नुभन्दा भारतमा गएर नोकरी गर्नु नै बेस हुने गरेको विकले बताए ।
स्थानीय सरकारले गाउँका युवाका लागि उपयुक्त कार्यक्रम सञ्चालनमा ल्याउने भनेको भए पनि त्यो कार्यक्रम कागजमा मात्र सीमित हुने गरेको युवाको दुःखेसो छ।
गाउँमा हुने विकास निर्माणका काममा पनि युवालाई प्राथमिकता दिनुको साटो उल्टै विकास निर्माणका काममा डोजरको प्रयोग गर्नुले गाउँका प्रायः सबै युवा कामको खोजीमा भारत जानु परेको सेलापाखाका स्थानीय युवा भरत रावतले बताए। उहाँले गाउँमा एसईईदेखि बीएरबीएड पास गरेका धेरै युवा छन्। अहिले गाउँमा केही रोजगारीको अवसर नमिलेपछि ती सबै युवा अहिले रोजगारीका लागि भारतका विभिन्न ठाउँमा भौँतारिरहेको बताए ।
सेलापाखा गाउँकै एक सयभन्दा बढी युवा अहिले भारतका विभिन्न ठाउँमा रोजगारी गरिरहेको रावतले भन्नुभयो। बर्सेनि गाउँमा सडक खनिन्छन्। त्यो सडकले जमिन मासिँदै गएको छ, यता जब बर्खा लाग्छ तब न त जमिन रहन्छ न त सडक नै रहन्छ। बर्खाको पानीले जताततै पहिरो बग्छ अनि स्थानीयवासीलाई बास बस्नसमेत कता जाऊँ हुन्छ।
यो समस्या गाउँ चलाउने अगुवालाई नै थाहा हुँदैन। यसरी गाउँमा पुगेका सडकले न स्थानीयलाई सहज गरेको छ न त जमिन बग्न रोकिएको छ। सडककै कारण गाउँमा पहिरो जान थालेपछि कैयौँको उठिबास भइसकेको उनले बताए ।
पहिला स्थानीयको मागअनुसार नै गाउँमा सडक खानेपानी भौतिक पूर्वाधार निर्माणमा पहिलो प्राथमिकतामा परेका थिए। पछिल्लो समयमा गाउँका बेरोजगार युवालाई गाउँमै रोजगारीको सिर्जना हुने गरेर विभिन्न कृषिमूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बूढीगङ्गा नगरपालिका प्रमुख रामबहादुर बानियाँ बताउछन् । गोरखापत्र