शुक्लाफाँटामा रुख कटानीको आदेशपछि अघि बढ्यो फोहर व्यवस्थापन केन्द्र निर्माण
2023/03/15, 6:26
 
ss

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम अघि बढ्ने बताइएको छ । शुक्लाफाँटा नगरपालिकाले रुख कटानीको आदेश डिभिजन वन कार्यालय कञ्चनपुर मार्फत भएपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अघि बढ्न लागेको जानकारी दिएको हो।

आरयुडीपी परियोजना अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनमा एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण हुने नगर प्रमुख रणबहादुर महराले बताए। उनले वन कार्यालयले फागुन २६ गते रुख कटानका लागि आदेश जारी गरेको र अब काम अघि बढ्ने बताए। एकीकृत फोहर व्यवस्थापन केन्द्र निर्माण ४।९९ हेक्टर क्षेत्रफलमा हुने र निर्माणकालागि यसअघि ठेक्का नै भैसकेको बताए । केवल रुख कटानी आदेश जारी नहुँदा समस्या भएकाले यो काम रोकिएको थियो। ८ सय २५ रुख कटान हुने बताइएको छ।

फोहर व्यवस्थापन केन्द्र निर्माणको गत वैशाखमा रमण केएसजेभी कैलाली र सहरी विकास आयोजना कार्यान्वयन इकाइबीच २६ करोड ७७ लाखमा ठेक्का सम्झौता भएको थियो। निर्माण सक्ने गरी सम्झौता २० महिना रहेकोमा रुख कटानी आदेश पाउन ११ महिना लागेकाले समयमै नसकिने निर्माण कम्पनीका इन्जिनियर अमित यादवले बताए । उनले तीब्र गतिले निर्माण कार्य अगाडि बढाउने योजना रहेको बताए । एडीबीको २६ करोड ७७ लाख सहयोगमा बन्ने फोहर व्यवस्थापन केन्द्रमा ३० देखि ४० वर्षसम्म फोहर व्यवस्थापन गर्न सकिने बताइएको छ।

क्षेत्रीय सहरी विकास आयोजनाका इन्जिनियर आकांक्षा श्रेष्ठले मानव स्वास्थ्य र वातावरणलाई कुनै असर नगर्ने खालको फोहर व्यवस्थापन केन्द्र निर्माण गरिने बताए।प्रविधिको प्रयोग गरेर आधुनिक तथा व्यवस्थित फोहर व्यवस्थापन केन्द्र बन्ने दाबी गरिएको छ। फोहर व्यवस्थापन केन्द्रमा लगिएको फोहरलाइ कुहिने र नकुहिने फोहरलाई छुट्याएर राखिनेछ । जसबाट फोहरबाटै जैविक मल र ग्याँस उत्पादन समेत गरिने र नकुहिने फोहर कबाडमा बिक्रि गरिने र खाडलमा पुरिने बताए। संकलन गरिएको फोहरलाई बन्द गाडीमा व्यवस्थापन केन्द्रसम्म लगिने ब्यवस्था गरिएको छ । संकलन भएको फोहर बन्द गाडीमा लगिने भएकाले दुर्गन्ध पनि नआउने र फोहर संकलन गाडीलाई दैनिक रुपमा सफाई गरिने इन्जिनियर श्रेष्ठले बताए । साथै उनले फोहर व्यवस्थापन केन्द्रमा दिशाजन्य पदार्थ नलगिने भएकाले त्यसका लागी अन्य ठाउँमा जग्गा हेरिरहेका जानकारी दिए ।