उर्जामा लगानी गर्न युरोपियन युनियनसँग मुख्यमन्त्री शाहको आग्रह
2023/03/16, 2:50
 
ss

युरोपियन युनियनका प्रतिनिधि उसका सदस्य राष्ट्रहरूका राजदूतहरूको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसँग भेटवार्ता गरेका छन् ।

सुदूरपश्चिमका तीन जिल्लाको भ्रमण सकेर धनगढी फर्केका फर्केको युरोपियन युनियन र उसका दुई सदस्य राष्ट्र जर्मनी र फ्रान्सका राजदूत र  मुख्य मन्त्री र मन्त्रीहरुबीच आज बिहान मुख्य मन्त्री कार्यालयमा भएको भेटमा प्रदेशको विकास र समृद्धिका विषयमा छलफल भएको थियो ।

मुख्यमन्त्री कमल बहादुर शाहले सुदूर पश्चिमको विकास र आर्थिक समृद्धिका लागि उर्जा क्षेत्रमा लगानी गर्न युरोपियन युनियन र राजदूतहरुसंग आग्रह गरे । उनले युरोपियन युनियन र उसका सदस्य राष्टहरुलाई सुदूर पश्चिममा शिक्षा, स्वास्थ्य र उर्जाका क्षेत्रमा सहयोग गरेकोमा धन्यवाद दिए । साथै आगामि दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिन मुख्यमन्त्री शाहले आग्रह गरे ।

भौतिक पूर्बाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले मान विकास सूचकांकमा पछि परेको सुदूर पश्चिमको गरिवी निवारण, शिक्षा, स्वास्थ्य र उर्जामा लगानी गर्न युरोपियन युनियनसंग आग्रह गरे । आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले देशका अन्य प्रदेशका तुलनामा सुदूर पश्चिम पछाडि रहेकोले सुदूरपश्चिमको विकास, गरिवी निवारण, शिक्षा र स्वास्थ्यमा लगानी बृद्धि गर्न युुरोपियन युनियनसंग आग्रह गरे ।

जर्मनी राजदूत थोमास प्रिन्सले विकास र समृद्धिका अवसर र चुनौती बुझ्न सुदूरपश्चिमको भ्रमणमा आएको बताए । राजदूत प्रिन्सले युरोपियन युनियन र जर्मन सरकारले सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, उर्जा र जीविकोपार्जनका क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए । उनले आगामि दिनमा दुर्गम क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा लगानी थप गर्ने सोच रहेको बताए ।

फ्रान्सका राजदूत गिल्स बोरबाओले सुदूर पश्चिममा जलस्रोत परियोजनाको संभावना, विद्युत आपूर्तिका लागि भारतसंगको सम्बन्धका बारेमा चासो व्यक्त गरेका थिए । मधेश र भारतको सम्बन्ध राम्रो रहेको अनुभव सुनाएका राजदूत बोरबाओले सुदूर पश्चिम प्रदेश र भारतको सम्बन्धका बारेमा जिज्ञासा राखे ।

राजदूत बोरबाओको जिज्ञासमा मुख्यमन्त्री शाहले भारतको उत्तराखण्ड र उत्तर प्रदेशसंग जोडिएको सुदूरपश्चिमको भारतका ति दुबै प्रदेश र भारतसंग समधुर सम्बन्ध रहेको जानकारी दिए । बेल्जियमको ब्रसेल्सस्थित युरोपियन युनियनको मुख्यालयमा कार्यरत मार्टा सिल्यागीले संघीय सरकारको आग्रहमा युरोपियन युनियनले कर्णाली, सुदूर पश्चिम र मधेश प्रदेशमा बिभिन्न शिक्षा,स्वास्थ्य, उर्जा र गरिवी निवारणका क्षेत्रमा साझेदारी तथा सहयोग गरिरहेको बताईन ।