नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा पडाल
2023/03/18, 4:31
 
Padal

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा भीम पडाल निर्विरोध निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न संघको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पडालको अध्यक्षतमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा नरबहादुर नेगी, उपाध्यक्षमा योगेन्द्रबहादुर शाही, महासचिवमा सुनिल ओझा, सचिवमा निमप्रसाद मिश्र, कोषाध्यक्षमा गिता अधिकारी चयन भएका छन् । यस्तै जनकराज भट्टराई, घनश्याम ओझा, डिल्लीराज ओझा, खेमराज भट्ट, सुरबहादुर चन्द रुपकबहादुर विष्ट, खेमराज दाहाल, विपिन आचार्य र बासुदेव जोशी सदस्यमा चयन भएका हुन् ।

यसअघि संघको साधारण सभा तथा अधिवेशनको नेपाल पुस्तक व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सञ्जय कुमार चौधरीले उद्घाटन गरेका थिए । सो अवसरमा उनले अंकित मूल्यमामात्र पुस्तक विक्री वितरण गर्न व्यवसायीहरुसंग अनुरोध गरे । उनले भने –‘पुस्तक खरिद गर्न आउने अधिकाँस ग्राहकहरुले छुट माग्ने गरेका छन् । यसले गर्दा व्यवसायीहरु केही मारमा परिरहेका छन् । यसकारण अबदेखि अंकित मूल्यमै मात्र पुस्तक विक्री वितरण गरौं ।’


संघको साधारण सभा तथा अधिवेशनबाट पुस्तक तथा स्टेशनरी व्यवसायमा योग्दान पुर्याउँदै आएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेमा जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक संयोजक खगराज भुषाल र पवन पुस्तक पसलका सञ्चालक वेदप्रकाश चुवाईलाई प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको छ ।


साधारणसभामा भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय, धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐर, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष मेखराज दाहाल, संघका कञ्चनपुर अध्यक्ष डिआर भट्ट, प्याबसन कैलालीका अध्यक्ष तोपेन्द्र शाह, पत्रकारमहासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले आफ्नो धारणा राखेका थिए । कार्यक्रममको सञ्चालन संघका सचिव सुनिल ओझाले गरेका हुन् ।