सेती अस्पतालमा महिला मृत्यु प्रकरणः मृतकका आफन्तद्धारा शव नउठाउँने चेतावनी
2023/03/18, 6:29
 
ss

धनगढी स्थीत सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएपछि आफन्तले शव नउठाउँने चेतावनी दिएका छन् । आज बिहान साढे ७ बजे कैलालीको चुरे गाउँपालिका–३ की ३५ वर्षीया झरना थापा मगरको उपचारका क्रममा मृत्यु भएको हो।

पाठेघरमा समस्या देखिएपछि चैत १ गते अस्पतालको गाइने वार्डमा भर्ना भएकी उनको आज शनिवार उपचारका क्रममा मृत्यु भएको हो।शल्यक्रियाका क्रममा उनको मृत्यु भएपछि चिकित्सकको कमजोरीका कारण मृत्यु भएको आफन्तको आरोप छ। स्रोतका अनुसार पाठेघरको समस्या भएकी मगरको शल्यक्रिया भएपछि मृत्यु भएको हो। उनको पाठेघरमा मासु पलाएकोमा हिजो नै शल्यक्रिया गरिएको थियो। तर, पाठेघरको शल्यक्रिया गरिएपछि त्यसको केही समयमै उनको ज्यान गएको बताइएको छ।

आफन्तका अनुसार बिरामीको पाठेघरमा मासु पलाएको भनेर भनेको चैत २ गते शल्यक्रियाको मिति छ भनेर अस्पतालले जानकारी दिएको थियो। तर, हिजो मात्रै शल्यक्रियाका गरिएको थियो। हिजो राति डेढ बजे शल्यक्रिया भएर बिरामीलाई आइसियुमा राखेको जानकारी आएको तर फेरि बिहान मृत्यु भएको भनेर जानकारी गराइएको मृतकका भिनाजु ठक्कर रानाले बताए। अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको उनको आरोप छ। उनले सामान्य अवस्था भएको बिरामीको मृत्यु नहुने भन्दै अस्पताल र चिकित्सकका कारण भएको बताए।

यसमा अस्पतालले लापरवाही गरेकोले सत्यतथ्य कुरा आउनुपर्ने उनले बताए । वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष टेकबहादुर शाहले बिरामीको शरीरमा रगतको मात्रा कम हुँदा पनि चिकित्सकले शल्यक्रिया गरेका कारण मृत्यु भएको बताएका छन्।उनका अनुसार ती महिला अस्पतालमा भर्ना हुँदा शरीरमा १३ पिन्ट रगत थियो। तर शल्यक्रियाका क्रममा शरीरमा ५ पिन्ट मात्र रगत थियो। ती युवतीको शल्यक्रिया डाक्टर जगदिशचन्द्र विष्टले गरेका हुन्। उपचारमा संलग्न डाक्टर विष्टले शल्यक्रियाकै कारण बिरामीको मृत्यु नभएको बताए।

उनले मृतक महिलाको पाठेघरबाट रगत बगेको नदेखीएको बताए । अन्यत्रबाट बगेको भए थाहा नभएको उनले जवाफ दिए। उनले अप्रेसनकै कारण मृत्यु नभएको भन्दै बिरामीमा अन्य रोगको समस्याले मृत्यु भएको हुन सक्ने बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हेमराज पाण्डेयले मृत्यु यकिन कारणबारे अहिले केही भन्न नसकिने बताए। विज्ञ टोलीको अनुसन्धानपछि मात्र मृत्युको कारण बारे भन्न सकिने बताए।

मृतक महिलाका आफन्त ठक्करबहादुर रानामगरले चिकित्सकको लापरवाहीका कारण मुत्यु भएकाले सत्यतत्य छानबिन नभएसम्म शव नउठाउने बताएका छन्। आफुले सेती प्रादेशिक अस्पतालमा ठुलो विश्वास गरेर उपचार गर्न ल्याएको बताए  चिकित्सकको लापरवाहीले यति ठुलो दुर्घटना भएको भन्दै सत्यतत्य छानबिन र विश्वस्त हुने आधार नभएसम्म शव नउठाउने उनले बताए।