कैलालीमा ठगी कार्यमा संलग्न ८ जना पक्राउ
2023/03/20, 4:48
 
कैलालीमा ठगी कार्यमा संलग्न ८ जना पक्राउ

कैलाली - कैलालीमा ठगी कार्यमा संलग्न ८ जना पक्राउ परेका छन् । प्रहरीले ठगीमा संलग्न भएको आरोपमा कैलालीको टीकापुरस्थित ग्लोबल ओरियन्स प्रालि शाखा कार्यालयका आठ जनालाई पक्राउ गरेको हो । ग्लोबल ओरियन्स नेपाल प्रालि शाखा कार्यालय टीकापुरका कर्मचारी भन्दै ठगी कार्यमा संलग्न ८ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

फेसबुकबाट चिनजान गरि पुस १५ गते बिभिन्न व्यक्तिबाट ४० हजारदेखि एक लाख २० हजारसम्म नगद संकलन गरेर ठगी गरेको आरोपमा टीकापुर प्रहरीले ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा टीकापुर नगरपालिका–५ का ३३ बर्षीय लालबिर चौधरी, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २० बर्षीय डेकेन्द्रबहादुर विक रहेका छन् ।

यस्तै चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ का १९ बर्षीय रबिन्द्र बोहरा, सोही ठाउँका १८ बर्षीय भरेश शाही, दैलेख दुल्लु नगरपालिका–९ का १९ बर्षीय खगेन्द्र जैशी, आठबिस नगरपालिका–१ का २५ बर्षीय जितेन्द्र बिक पनि पक्राउ परेका छन् । यस्तै सोही ठाउँका २३ बर्षीय दुर्गा बिक र आठबिस नगरपालिका–३ का २० बर्षीय बर्षा बडुवाल रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । स्थानीयहरुले दायर गरेको ठगी मुद्दाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ । ठगीको रहस्य सार्वजनिक भएपछि एक महिनाको लागि बिदा भयो भन्दै कार्यालय आइतबारदेखि नै बन्द गरिएको छ । तर बाहिरबाट ल्याएर होस्टेलमा राखिएकाहरू भने अब पैसा पाइन्छ कि भनेर आफू ठगिएको बताउन थालेका छन् । अछाम ढकारीका चिरञ्जीवी बुढाका अनुसार नौ वटा जति होस्टेल रहेकोमा धेरैजसोलाई भगाइसकेको र केही मात्रै होस्टेलमा रहेको बताइएको छ ।