ठगीमा संलग्न ग्लोबल ओरियन्सका आठ जना पक्राउ
2023/03/20, 5:05
 
ss

कैलाली प्रहरीले ठगीमा संलग्न भएको आरोपमा टीकापुरस्थित ग्लोबल ओरियन्स प्रालि शाखा कार्यालयका आठ जनालाई पक्राउ गरेको छ । पीडितहरुको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नेटवर्किङ बिजनेस गर्दै आएको ग्लोबल ओरियन्सले आकर्षक तलबसहित रोजगारी दिने नाममा विभिन्न व्यक्तिबाट मोटो रकम असुलेको बताइएको छ । 

पक्राउ पर्नेमा दैलेक चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का २० वर्षीय डेकेन्द्रबहादुर विक, टीकापुर नगरपालिका–५ का ३३ वर्षीय लालवीर चौधरी, दैलेख दुल्लु नगरपालिका–९ का १९ वर्षीय खगेन्द्र जैशी, आठबीस नगरपालिका–१ का २५ वर्षीय जितेन्द्र विक, बिन्द्रासैनी नगरपालिका–८ का १९ वर्षीय रविन्द्र बोहरा, सोही ठाउँका १८ वर्षीय भरेश शाही, आठबीस नगरपालिका–१ का २३ वर्षीया दुर्गा विक र आठबीस नगरपालिका–३ का २० वर्षीया वर्षा बडुवाल रहेका छन् । 

फेसबुकबाट चिनजान गरि पुस १५ गते बिभिन्न व्यक्तिबाट ४० हजारदेखि एक लाख २० हजारसम्म नगद संकलन गरेर ठगी गरेको आरोपमा टीकापुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार चैत ५ गते आइतबार ग्लोबलका १२ जना प्रतिनिधि विरुद्ध जिल्ला अदालत कैलालीमा ठगी मुद्दा दर्ता भएको छ । जसमध्येका डेकेन्द्र विक लगायतका आठ जना पक्राउ परिसकेका छन् । २१ जनालाई सोधपुछ गरेको छ । 

ठगीको रहस्य सार्वजनिक भएपछि एक महिनाको लागि बिदा भयो भन्दै कार्यालय आइतबारदेखि नै बन्द गरिएको छ । तर बाहिरबाट ल्याएर होस्टेलमा राखिएकाहरू भने अब पैसा पाइन्छ कि भनेर आफू ठगिएको बताउन थालेका छन् । अछाम ढकारीका चिरञ्जीवी बुढाका अनुसार नौ वटा जति होस्टेल रहेकोमा धेरैजसोलाई भगाइसकेको र केही मात्रै होस्टेलमा छन् ।