धनगढी–दिपायल द्रुतमार्गमा सडक कालोपत्रका लागि ठेक्का
2023/03/21, 12:42
 
ss

धनगढी–दिपायल दु्रतमार्ग अन्तर्गत ३४ दशकलव ९ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएको छ। नेपाल सरकारको प्राथमिकता प्राप्त धनगढी–दिपायल द्रुतमार्गमा पुँजीगत शीर्षकमा बजेट विनियोजन नभएपछि रोकिएको काम पुनः सुरु हुने भएको छ।

चालु आर्थिक वर्षको ७ महिना वितिसक्दा पनि सो सडक निर्माणका लागि बजेट विनियोजन गरिएको थिएन। प्राथमिकता प्राप्त भई बहुवर्षीय ठेक्का लागिसकेको सो आयोजनामा बजेट नपरेपछि निर्माण कम्पनीले गत असोजदेखि काम रोकेका थिए। फागुन मसान्तमा नेपाल सरकारले रकमान्तरमार्फत् १५ करोड विनियोजन गरेपछि निर्माण कम्पनीहरूले पुनः काम सुचारु गर्ने भएका हुन्। 

गत आर्थिक वर्षमा ट्रयाक खोल्ने काम पुरा भएको आयोजनालाई तीन खण्डमा विभाजन गरी कालोपत्रका लागि ठेक्का लगाइएको छ। चालू आर्थिक वर्षका लागि बजेट विनियोजन नभएपछि ठेक्का लागेर आधा काम भइसकेको खण्डको काम रोकिएको छ। धनगढी–स्याउले खण्ड १३ दशमलव ४ किलोमिटर, स्याउले–हाटखोली खण्ड ६ दशमलव ५ किलोमिटर र दिपायलदेखि धनगढीतर्फ १५ किलोमिटर गरी कुल ३४ दशमलव ९ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का लगाइएको छ।

धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दिनेश रैखोलाले स्याउले–हाटखोली खण्ड ६ दशमलव ५ किलोमिटर कालोपत्र निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीले उपकरण ल्याएर खोलामा राखिसकेको बताए। उनले डोटीमा पनि काम सुरु हुन थालेको बताए। धनगढी–स्याउले खण्डमा निर्माण कम्पनी एक साताभित्रै आएर काम थाल्ने बताए।

आयोजना कार्यालयले निर्माण कम्पनीहरूलाई ७८ करोड रुपैयाँ भुक्तानी गर्न गतवर्षको दायित्व छ। तत्काल काम सुरु गर्न हालै विनियोजित १५ करोड रुपैयाँले भ्याइने आयोजना कार्यालयले जनाएको छ। आयोजना कार्यालयले बजेट विनियोजन भएपछि रोकिएको काम सुचारु गर्न तत्काल ५० करोड रुपैयाँ माग गरेको थियो। निर्माण कार्य अघि बढाउन ३५ करोड अझै अपुग छ।

धनगढी–स्याउले खण्डमा सबबेससम्म निर्माण भएको छ भने बाँकी दुई खण्डमा वाल, नालीलगायतका संरचना निर्माण भएको छ। धनगढी–स्याउले खण्डमा खड्का कृष्ण नारायणम् जेभीले २०७८ साउनदेखि काम गरिरहेको छ। सो खण्ड निर्माणका लागि भ्याटबाहेक १६ करोड ४० लाखमा ठेक्का सम्झौता भएको छ।