डोटीमा सुत्केरी महिलालाई उपमेयरको कोसेली
2023/03/25, 12:31
 
डोटीमा सुत्केरी महिलालाई उपमेयरको कोसेली

डोटी – डोटीको शिखर नगरपालिकाले नगरपालिकामा रहेका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । उपमेयरसँग सुत्केरी महिला कार्यक्रम अन्तर्गत नगरका सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरासँगै कम्मल वितरण गरिएको हो ।

शिखर नगरपालिका वडा नम्बर १०, ८ र ११ बाट कार्यक्रमको थालनी गरिएको हो । वडा नम्बर १० का २४ जना, वडा नम्बर ८ का ९ जना र वडा नम्बर ११ का ११ जना सुत्केरी महिलाहरुलाई सामग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख हरिश शाहले जानकारी दिनुभयो । उहाँका अनुसार कोसेलीमा न्यानो लुगा, सरसफाइका सामग्री, पोषणयुक्त खानेकुराहरु वितरण गरिएको हो ।

यसैगरी नगरका अन्य वडाका सुत्केरी महिलाहरुलाई पनि कोसेली उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । पोषणयुक्त खानेकुराहरु खाने र सरसफाई गर्ने बानीको विकास होस् भन्ने उद्येश्यले सामग्री वितरण गरिएको उपप्रमुख सुनिता रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुत्केरी महिलाको हेरचाह, स्वास्थ्य अवस्थाका बारेमा जानकारी हुने, नवजात शिशुको स्याहार, सरसफाई र आमाको स्वास्थ्यको ख्याल गर्नुपर्छ भन्ने सन्देश पनि दिन सकिने भएकाले स्वाथ्यकर्मीसहित यो कार्यक्रम राखिएको हो ।’ 

नगरवासीको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिएको नगर प्रमुख दीर्घ बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानिसको स्वास्थ्य स्वस्थ भयो भने मात्रै अन्य कामहरु गर्न सकिन्छ, हामीले हाम्रो क्षेत्रका महिलाहरुको स्वास्थ्यलाई झनै प्राथमिकतामा राखेका छौँ । स्वास्थ्य संस्थाको सेवा बृदी, उपचार, एम्बुलेन्स सेवा, सिविर जस्ता विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं त्यसै मध्यको यो कार्यक्रम पनि हो ।’