बैतडीका तत्कालीन जिशिअ भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
2023/03/27, 12:05
 
बैतडीका तत्कालीन जिशिअ भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी ९जिशिअ० सहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको भन्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टसहित ६ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार भन्दै मुद्दा दर्ता गरेको हो। भट्टले नियुक्तिपत्र नै नभएको गैरशिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई हुनैनाथ आधारभूत विद्यालय सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफै स्वीकृत गरी उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलबलगायतका सुविधाहरु निकासा दिई जिल्ला शिक्षा अधिकारीको पद तथा ओहदाको दुरुपयोग गरी सार्वजनिक सम्पत्तिको बदनियतपूर्वक ७४ हजार ९२० हानी नोक्सानी गराएको आरोप पत्रमा उल्लेख गरिएको छ ।

भट्टसहित ६ जनाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा सोही दफामा उल्लेख भए बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा(१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम विगो रु.७४ हजार ९२० कायम गरी कैद र विगो बमोजिमको जरिवाना असुल उपर हुने मागदाबी लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्। आरोपित भट्टले प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफैंले स्वीकृत गरेर सो विद्यालयदेखि बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी तलबलगायतका सुविधा निकासा हुँदा ७४ हजार ९२० रुपैयाँ सार्वजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी पुराएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

यसो गर्ने क्रममा जिल्ला शिक्षा कार्यालयका तत्कालीन प्रविधिक सहायक स्वर्गीय सञ्जय ठाकुर दनुवारले विद्यालयले शिक्षक पदमा कसैलाई नियुक्ति नै नदिएको अवस्थामा अवस्थीको टिप्पणी उठाएको आरोप छ । यसैगरी, मनकाकुमारी अवस्थीले सरुवा भएको झुट्टो पत्रको आधारमा शिक्षक भई पारिश्रमिक लिएको आरोप छ । सोही कार्यालयका तत्कालीन स्रोत व्यक्ति हरिनाथले अवस्थीले नियुक्तिपत्र नलिएको जानकारी हुँदाहुँदै अनियमित कार्यमा मतियार भई सहयोग गरेको, बलैराज निमाविका व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीले आफ्नो विद्यालयमा सरुवा भई आउने कुनै निर्णय र सिफारिस समेत नभएको अवस्थमा प्रधानाध्यापक र निजको संयुक्त दस्तखतमा पारिश्रमिक रकम भुक्तानी गरेको आरोप छ।