सुदूरपश्चिममा सलह देखिएपछि प्राविधिक टोली निरीक्षणमा 
2020/07/01, 9:46
 
salah

गत शनिबार नेपाल प्रवेश गरेको सलह किरा सुदूरपश्चिममा पनि देखिएपछि कृषि प्राविधिकको टोलीले निरीक्षण गरेको छ । प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि प्राविधिको टोलीले कैलालीको विभिन्न क्षेत्रको निरीक्षण गरेको छ । फिल्डमा खटिएका प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी जनकराज बोहराले घोडाघोडी लम्कीचुहा जानकी, टिकापुर, कैलारी र जोशीपुरमा निरिक्षण गरेको बताए ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ थपालीपुर, बर्दगोरीया र जानकी गाँउपालिका लगायतका ठाँउमा देखिएको थियो । कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका भएर सलहको समूह भित्रिन सक्ने भएकाले चारवटा तहमा क्षति कम गर्न आवश्यक तयारी पनि थालिएको कृषि मन्त्रालयले जनाएको छ । सलहको समूह आएर बाली खान थालेमा होहल्ला गरेर भगाउन तथा विषादी, जाल आदिको प्रयोग गर्न कृषकहरूलाई आग्रह गरिएको छ ।

कैलालीमा भित्रिएको सलह किरा ठूलो झुण्डमा नभएको बताईएको छ । कैलालीको लम्कीमा देखिएको सलह कुनै झुण्डबाट छुट्टिएर कैलाली पुगेको हुनसक्ने अनुमान गरिएको छ । सोमबार केही मात्रामा मात्रै किराहरू देखिए पनि मंगलवार धेरै किराहरू देखा पर्न थालेको किसानहरूले बताएका छन् । कैलालीको बर्दगोरीया गाउँपालिकाका स्थानीय किसान रामप्रसाद कठरियाले सोमबारको तुलनामा मंगलबार खेतमा किरा बढी देखिएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले एक किलो सलह फट्यांग्रा संकलन गरेर ल्याए २५ रुपैयाँ दिने यसअघि नै निर्णय गरिसकेको छ ।